पाल्पा । लोकप्रिय गायक प्रकाश सपूतको ‘पिर’गीतलाई युट्युबमा एकसातामै एक करोड बढी दर्शकले हेरेका छन् । अघिल्लो शुक्रबार सार्वजनिक भएको गीतले शनिबार बिहान युट्युबमा १ करोड भ्युज पार गरेको हो । योसँगै यस गीतले युट्युबमा छोटो समयमै एक करोड भ्युज पाउने गीतको रेकर्ड समेत राखेको छ । यसअघि यति छोटो समयमा कुनै पनि गीतले करोड बढी भ्युज पाएका थिएनन् ।
तीजमा सार्वजनिक विष्णु माझीको ‘चरी जेलैमा’ले १३ दिनमा एक करोड भ्युज पाएको थियो भने त्यसअघि प्रकाश सपूतकै ‘कुरा बुझ्न पर्च’ले १५ दिनमा एक करोड भ्युज पाएको थियो ।
प्रकाशकै शब्द, संगीत रहेको ‘पिर’मा प्रकाशसंगै सम्झना भण्डारीको पनि स्वर छ । प्रकाशकै कथा, पटकथा एवं निर्देशन रहेको गीतको भिडियोमा प्रकाशसंगै सुरक्षा पन्त, लोकेन्द्र लोखक, कुशु पुन केशरी लगायतको अभिनय छ । प्रकाशले ‘पिर’ गीतमा व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन हुन नसकेको विषयवस्तुमा माओवादी जनयुद्धका पीडितहरुको कथा उतारेका छन् ।
गीत सार्वजनिक भएसंगै भिडियोमा देखाईएको दृश्यका कारण माओवादी नेता एवं कार्यकर्ताले विरोध जनाउन थालेपछि विवादित बन्दै गएको थियो ।





















