पाल्पा। कुनै पनि बहानामा नेपाल सरकारले जनतालाई उपलब्ध गराएको सुविधा रोक्न नमिल्ने नेपाली कांग्रेस पाल्पाले बताएको छ ।

नेपाली कांग्रेसका गगनकुमार थापा स्वास्थ्यमन्त्री भएको समयमा ल्याएको स्वास्थ्य बीमालाई विभिन्न बहानामा कमजोर गराउने प्रयत्न भैरहेको भन्दै बहानाबाजी नगर्न र सहज रुपमा सेवा निरन्तर गर्नु आवश्यक रहेको बताएको छ ।

नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले स्वास्थ्य बीमा कार्यक्रम लागु भएका र कार्यान्वयन भएका अस्पतालहरुमा नियमित दाबीभुक्तानी गर्न आफूहरुले स्वास्थ्य बीमा बोर्डमा ध्यानाकर्षण गराएको बताए ।

कांग्रेस सभापति श्रेष्ठ भने, ‘अस्पतालहरुले स्वास्थ्य बीमाको रकम उपलब्ध नभएको बहानामा जनतालाई सेवा नै नदिने घोषणा गर्न मिल्दैन । पार्टीको तर्फबाट हामीले प्रमुख जिल्ला अधिकारी तथा बीमा समितिसम्म कुराकानी गरिरहेका छौं । बक्यौता रकम पनि किस्ताकिस्तामा प्राप्त भैरहेकै छ ।’

२०७३/०७४ आर्थिक वर्षदेखीकै बक्यौता रहनुमा त्यस समयका सरकारको मुख्य जिम्मेवारी थियो र वर्तमान सरकार आईसकेपछि एक किस्ता रकम भने भुक्तानी गरेको छ । अब उपचार पनि निरन्तर दिने र बक्यौता रकम पनि निकाशा हुँदै जाने गरि व्यवस्थापन हुनु आवश्यक छ । यसमा कांग्रेस पाल्पाको गम्भीर ध्यानाकर्षण भएको छ, जनताले सेवा पाउनु नैसर्गिक अधिकार हो ।

स्वास्थ्य बीमाबाट जनताले सहज उपचार सेवा प्राप्त गरिरहेका छन् । नेपाल सरकार अन्तर्गतका अस्पताल तथा अन्य अस्पतालहरुले सेवाको प्रभावकारीका विषयमा ध्यान दिनुपर्छ ।

राज्यको दायित्व अन्तर्गत रहेको स्वास्थ्य बीमा कार्यक्रम नियमित गर्न नसकिने विषयप्रति हामी गम्भीर छौं, श्रेष्ठले भने,स्वास्थ्य जस्तो गम्भीर र संवेदनशिल विषयमा जिल्लाका सरोकारवालाहरु सबै गम्भिर बन्नु आवश्यक छ ।

गत शुक्रबार युनाइटेड मिशन अस्पताल पाल्पालेसरकारले स्वास्थ्य बीमाका बिरामी उपचार खर्च वापत उपलब्ध गराउनुपर्ने १२ करोड ७ लाख ३७ हजार ५ सय ८७ बक्यौता रकम वैशाख ५ गतेसम्म उपलब्ध नगराए ६ गतेदेखी सेवा कटौती गर्ने भन्दै पत्रकार सम्मेलन गरेको थियो ।

 

तपाईको प्रतिक्रिया