
तानसेन। पाल्पामा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार बेलुका ५ बजेतिर रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ६ स्थित पानीडाँडादेखि जुठापाैवातर्फ जाँदै गरेको ग १ ख ४९०२ नं. को बस दुर्घटना हुँदा बस धनी ४२ वर्षीय बेदबहादुर जिसीसहित ५ जना बालक घाइते भएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा ७ वर्षीय रोहीत घर्ती, ८ वर्षीय मिलन बगाले, ८ वर्षीय रोम घर्ती, ९ खिमबहादुर घर्ती र १० वर्षीय आकाश रास्कोटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बिरेन्द्र जिसीले जानकारी दिए ।
बस धनी जिसी आफैले बस चलाएको र घाइते हुने सबै एकै स्थानका रहेको प्रहरीले जनाएको छ । सबै घाइतेहरुको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
शुक्रबार बेलुका ५ बजेतिर भएको दुर्घटनामा बस सडकदेखि ४ सय मिटर तल खसेको प्रहरीले जनएको छ । दुर्घटनाको कारण भने नखुलेको र थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ ।