तानसेन। पाल्पाली गायक शिरीष देवकोटाको स्वरमा नयाँ रोईला (खेली) गीत सार्वजनिक भएको छ ।
देवकोटाकै शब्द, संगीत रहेको ‘कहाँ हो तिम्रो मावल’ गीतमा उनीसँग गायिका ऋतु कंडेलले स्वर दिएकी छन् । कृष्ण बि.क (भान्जा)को एरेन्ज रहेको गीतको भिडियो बुधबार साँझ युट्युबमा सार्वजनिक गरिएको हो ।
काजिश श्रेष्ठको निर्देशनमा गीतको भिडियो तयार परि सार्वजनिक गरिएको हो । भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र लोमश शर्माको नृत्य रहेको छ । साथै, गायक/गायिका पनि भिडियोमा प्रस्तुत छन् ।
पाल्पामा जन्मिएर गायकको क्षेत्रमा ख्याती कमाएका देवकोटालाई रोईला गीतका पर्याय समेत मानिदै आएको छ । गतवर्ष ‘बोलीदेउ आधार’ बोलको रोईला गीत सार्वजनिक गरेकापछि एक वर्षको अन्तरमा नयाँ रोईला गीत सार्वजनिक गरेको उनले बताए ।
पाल्पाको बगनासकाली गाउँपालिका वडा नं. ५ दर्लमडाँडाको गेजामा जन्मिएका शिरीषको ‘खरबारीमा जान्छु, मुठ्ठी लिन्छु टोलाउँछु, पात बजाउँदै बोलाउँछु’, ‘म त आउने थिइनँ, यही चाल होला भन्या भा’, ‘दुर्गा हौ कि भवानी, बढ्दै गा‘को जवानी’, ‘अहिले टारी खेतमा गहुँ नछर तिल छर, माया लाउन मिल्छ र’ जस्ता रोइला गीत निकै चर्चित मानिन्छन् ।
‘कहाँ हो तिम्रो मावल’लाई पनि स्रोता एवं दर्शकले रुचाउने उनले विश्वास लिएका उनले बताए । ‘भिडियोको भ्युज अलि कम छ । तर, जतिले हेर्नुभएको छ राम्रो प्रतिक्रिया दिनुभएको छ’ गीतको प्रारम्भिक प्रतिक्रियाबारे बताउँदै उनले भने, ‘भिडियो राम्रो बनेको छ । यस प्रकारका गीतको भ्युज विस्तारै बढ्ने गरेको छ । यो गीतले पनि विस्तारै राम्रो भ्युज पाउँदै जाने विश्वास छ ।’
‘कहाँ हो तिम्रो मावल’को भिडियोलाई अजय रेग्मीले क्यामेरामा कैद गरेका हुन् भने दीपक विष्टले यसको सम्पादन एवं कलर गरेका हुन् । भिडियो गायिकाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।