तानसेन। पाल्पामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचन सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन बेलुका ८ बजे सम्पन्न भएको हो ।

देश संघीय संरचनामा गएसंगै दोस्रो पटक भएको निर्वाचनमा उत्साहित भएर मतदाताले मत दिएका छन् । जिल्लाको दुई प्रतिनिधिसभा तथा ४ प्रदेशसभा सदस्य निर्वाचनका क्षेत्र नं. १ मा समय सीमा भित्रै मतदान सकिएको थियो ।

यस्तै क्षेत्र नं. २ अन्तरगत तानसेनका दुई मतदान केन्द्रमा भने मत बदर भएपछि समय थप गरेर पुनः मतदान गरि निर्वाचन सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले बताए । तानसेनस्थित वडा नं. ६ मा रहेको जनप्रिय माविमा ६८ मत बदर भएपछि दुई घण्टा समय थपेर पुनः मतदान गरिएको थियो ।

यस्तै तानसेन नगरपालिका वडा नं. ९ को दमकडा माविमा पनि ५८ मत बदर भएपछि पुनः मतदान गरिएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पहिलो हुने निर्वाचित हुने अर्थात प्रत्यक्षतर्फको संघ र प्रदेशको मतदान फरक बाक्सामा परेपछि पुनः मतदान गरिएको हो । सो केन्द्रमा ५८ जना मतदाताले मात्रै पुनः मतदान गरेका हुन् ।

थपिएको समयसंगै ८ बजे नै सो मतदानस्थलका केन्द्रमा मतदान सम्पन्न भई मतपेटिका मतगणना स्थलमा ल्याइएको छ । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा महिला, युवा, जेष्ठ नागरिक, अपाङ्गता भएका मतदातासहितका मतदातको उत्साहजनक रुपमा सहभागिता रहेको मतदान अधिकृतहरुले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया