
तानसेन। पाल्पाका एकै घरका दुई भाई प्रदेशभा सदस्यमा निर्वाचित भएका छन् । पूर्वी पाल्पाको रामपुर नगरपालिका एकै घरका दुई दाजुभाई नेकपा एमालेकोतर्फबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
पाल्पा क्षेत्र नं. १(१)मा राजुप्रसाद श्रेष्ठ (भाई) लुम्बिनी प्रदेश प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यस्तै रुपन्देही निर्वाचन क्षेत्र नं २ (२) बाट भोजप्रसाद श्रेष्ठ (दाजु) निर्वाचित भएका हुन् ।
भोजप्रसाद लामो समयदेखि रुपन्देहीमा रहेर राजनीतिमा सक्रिय रहेका थिए। भने, भाई राजुप्रसादले रामपुरमा रहेर राजनीतिक क्षेत्रमा आफूलाई अघि बढाएका थिए । राजुप्रसादले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका श्यामकान्त खनाललाई पछि पार्दै १७ हजार छ सय ४२ मत प्राप्त गरी प्रदेशसभा सदस्य बनेका हुन् ।
उनका प्रतिस्पर्धी खनालले १२ हजार दुई सय ५२ मत प्राप्त गरेका थिए। यस्तै भोजप्रसादले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार वामदेव घिमिरे क्षेत्रीलाई पछि पार्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले १६ हजार तीन सय मतसहित विजयी हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी घिमिरेले नौ हजार चार सय १० मत पाएका थिए ।
स्वः पिता लोकप्रसाद श्रेष्ठ र माता शेषकुमारी श्रेष्ठका भोजप्रसाद साहिलो र राजुप्रसाद कान्छो सन्तान रहेका छन् ।
राजुले पहिलो पटक संसदीय प्रक्रियामा निर्वाचित भएका हुन् भने, भोजप्रसादले २०७४ मा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएर केही समय लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीको जिम्मेवारी समेत सम्हालेर काम गरेका थिए ।