बालविवाह न्यूनिकरण गर्न पाल्पाको निस्दीमा फरक अभियान

तानसेन। पाल्पाको निस्दी गाउँपालिकामा उमेर नपुगी भएको विवाह, भोजमा सार्वजनिक पद धारण गर्ने व्यक्ति सहभागी नहुने भएका छन् । बढ्दो बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले परिवारबाट निमन्त्रणा भएको भोज तथा विवाहको अन्य कार्यमा सार्वजनिक पद धारण गर्ने व्यक्ति सहभागी नहुने भएका हुन् ।

बालविवाह न्यूनीकरण नभएको भन्दै सरोकारवाला पक्षले गाउँमा कसैको बालविवाह भएको भए, त्यस्ता स्थानमा आयोजना भएको कुनै पनि कार्यक्रममा सरिक नहुने प्रतिबद्धता जनाएका छन् । निस्दी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, कर्मचारी तथा अन्य सङ्घ संस्थाको भेलाले बालविवाह न्यूनीकरण गर्न यस्तो अभ्यास थालनी गरेको जनाएका छन् ।

बालविवाह सामाजिक समस्याका रूपमा खडा भएकाले निरुत्साहित गर्न यस्तो निर्णय गरिएको पालिकाका अध्यक्ष मुक्तबहादुर सारूले जानकारी दिए। बालविवाह गर्ने परिवारबाट गाउँपालिकाभित्रका कार्यालयमा निमन्त्रणा आएमा कुनै पनि कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, जनप्रतिनिधि भोज तथा अन्य कार्यमा सहभागी नहुने निर्णय गरिएको अध्यक्ष सारुले बताए ।

पछिल्लो समय ग्रामीण क्षेत्रमा रहेका बालबालिकाले विद्यालय उमेरमै विवाह गर्ने गरेको र त्यसको प्रत्यक्ष प्रभाव स्वयम् विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई पर्ने गरेको छ । बालविवाहले घरेलु हिंसा बढेको, किशोरी उमेरमै आमा बनेको, शिशुको मृत्युदर बढेकोजस्ता समस्या देखिएको बालमैत्री स्थानीय शासन परामर्शदाता कुश्माखर पाण्डेले बताए ।

बालविवाह न्यूनीकरण गर्न पालिका, समुदाय, विद्यालय तथा अन्य सरोकारवाला पक्षको सहभागिताबाट भएको यस्तो निर्णयले समाजमा सकारात्मक परिणाम ल्याउने अपेक्षा गाउँपालिकाले गरेको छ । निस्दीमा बालविवाह बढेपछि बाल क्लब गठन गरी क्लबमार्फत जनचेतना तथा बालविवाह नगर्ने प्रतिबद्धतासमेत किशोरकिशोरीलाई गराइएको छ ।

कम उमेरमा विवाह गर्दा घरेलु हिंसा बढेको छ भने किशोरीबाट जन्मने बच्चाको स्वास्थ्यमा समस्या आउने गरेको हुँदा पनि यो अभियान चलाइएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer