तानसेन। रिब्दीकोट गाउँपालिकामा पालिकास्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा “सबै महिला तथा बालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने विषयमा प्रतियोगिता सम्पन्न भएको हो।
प्रतियोगितामा पालिका भित्रका १३ वटा माध्यमिक विद्यालयका छात्रा विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय तथा विद्यार्थीहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। प्रतियोगितामा आदर्श माध्यमिक विद्यालय देउराली प्रथम, भैरव जनता माध्यमिक विद्यालय भैरवस्थान द्वितीय, भवानी माध्यमिक विद्यालय कुसुमखोला तृतीय र लक्ष्मी माध्यमिक विद्यालय माल्मुल सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।
पुरस्कार वितरण गर्दै गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले समाजमा महिला तथा बालिकाको अधिकार सुनिश्चित गर्न सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।
उनले महिलालाई शिक्षा, अवसर र निर्णय प्रक्रियामा समान सहभागिता दिलाउनुपर्नेमा बताउँदै भने,-“महिला र बालिका सशक्त भए मात्र परिवार, समाज र राष्ट्र सशक्त बन्न सक्छ। ”
घरमा आमा, श्रीमती रछोरी हुँदै समाज र मुलुककै नेतृत्व तहसम्म महलिाको सहभागिता बढाउन संविधानले नै व्यवस्था गरेको जनाउँदै गाउँपालिकाले पनि त्यो कार्यलाई बढावा दिएको अध्यक्ष कार्कीले बताए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले महिला तथा बालिकाको अधिकार सुनिश्चित गर्न शिक्षा र सचेतना सबैभन्दा महत्वपूर्ण आधार भएको बताए। उनले विद्यालय तहबाटै विद्यार्थीहरूलाई महिला अधिकार, समान अवसर र सामाजिक न्यायका विषयमा जानकारी गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरे ।
कार्यक्रममा रिब्दीकोट गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष चिरञ्जीवी पोखरेल, कार्यपालिका सदस्य गोमा पचभैयालगायतले महिला अधिकारसंगै बालिकाको शिक्षा, स्वास्थ्य र नेतृत्व विकासका लागि आ आफ्नो तहबाट प्रयासहरु गर्दै आएको बताएका थिए ।
रिब्दीकोट गाउँ कार्यपालिकाको कार्यालय खस्यौलीमा आयोजित प्रतियोगिता महिला कार्यक्रम कार्यान्वयन समितिकी संयोजक तथा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो।
गाउँपालिकाले नारी दिवसको दिन अर्थात मार्च ८ तारिखमा चुनावी कार्यक्रमले बिहीबार सोही अवसरमा आयोजना गरेको उक्त कार्यक्रमले विद्यार्थीहरूमा अभिव्यक्ति क्षमता विकास गर्नुका साथै महिला अधिकार, समानता र सशक्तिकरणका विषयमा सचेतना फैलाउन सहयोग पुग्ने विश्वास गरिएको छ।





















