
काठमाडौं। पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको पनि निधन भएको छ ।
माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रमका लागि प्रस्थान गरेकी उनको दुर्घटनामा मृत्यु भएको नीराकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गरिन् ।
विमान दुर्घटनामा परेको खबर आएपछि नीराका बुवालगायत आफन्त बागलुङबाट पोखरातर्फ आइरहेको उनले जानकारी दिइन् ।
नेपाल छन्त्याल युवा संघले सोमबार पोखरामा पुरुष तथा महिला भलिबल प्रतियोगता गर्ने कार्यक्रम थियो । त्यस अवसरमा नीराले सांगीतिक प्रस्तुति दिने तयारी थियो । नीरा लाइभ दोहोरीमा चलेकी कलाकार हुन् ।
आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा त्यसमा सवार ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमध्ये हालसम्म ११ जनाको सनाखत भएको छ ।