
म नजन्मिदै आमाले जन्माउ कि नजन्माउ भनेर कयौँ पल्ट सोचेकी मान्छे
म जन्मिए पछि बाले यसलाई राखौ कि नराखौँ भनेर सोचेकी मान्छे
म त आफ्नै परिवारको मनबाट हुत्याईएकी मान्छे
म हुर्किदै गर्दा समाजले पराईको भनेर छुट्याइएकी मान्छे
म समानता भन्दा कोसौ परकी मान्छे
भर्खरै मेरा पाउहरुमा पालुवा लाग्दै थिए
म जीवन कति जिवन्त रहेछ बुझ्दै थिए
कोहि आउछ हात समाउछ, कोहि आउछ मुख समाउछ अनि कोहि आउछ मेरो शरिर समाउछ,
म जिउदो लास झै ठडिएकी मान्छे
म हासौ त सोच्नु पर्ने रोउ त सोच्नु पर्ने
म नाचौ अनि गावौ मैले हरक्षण सोच्नुपर्ने
म त मुट्ठि भरिमा अड्याइएकी मान्छे
स्कुलको सर भन्नुहुन्थ्यो विश्वका गतिविधि
रकेट उडेका कुरा, रेल गुडेका कुरा,
महिलाले देश चलाएका कुरा, म जस्तै नानीले हसाएका कुरा,
यहाँ कसले भनिदिने त्यहि सरले छोएका कुरा,
म रातभर रोएका कुरा,
बाले मेरा लागि कलम नकिन्न भनेका कुरा
आमाले अब पढाउन सकिन्न भनेका कुरा
हजुरबाले एकदिन मलाई शहर घुमाउन लानुभाथ्यो
झिलिमिलि बत्तिमा मेरो मनै झिलिमिली भाको दिन,
म हर्षले फुलेको दिन,
ती गुडेका गाडीहरु अचम्मित हुदैँ हेरेको दिन
माइजुका छोराहरु फोन र टिभीमा खोसाखोस गरेको दिन
हिजो जस्तै लाग्छ
मलाई मेरो श्रीमान हेर्न आएको दिन
मलाई अन्माएको दिन
म सबै संग अनि अन्तिममा आफै संग हारेको दिन
एकैछिन सबै कुरा रोकेर कल्पिन मन लाग्छ,
मैले पढ्न पाएकी भए,
मैले कसेको प्रवाह नगरी मुस्काएकी भए,
मैले आफ्नो मन पर्ने गित सबै सामु गाएकी भए,
म आफ्नो बेगमा हिडेकी भए,
म अरुको बेगलाई पनि साथ दिन्थे होला,
म गलत र सहि चिन्थे होला,
म पनि पखेटा फिजाउदै उड्थे होला,
गतिशिल चरी जस्तै, मेरो सपनाकी परि जस्तै,
म नयाँ विश्वमा नजिकिन्थे होला,
समानताको बिज रोपेर म मलजल गर्थे होला,
एउटा सपना भर्थे होला,
“सिङ्गो विश्वको नयाँ युगको कल्पना” मैले पनि त गर्थे होला,
तर म त समानता भन्दा कयौँ पर राखिएकी मान्छे ।।