पाल्पा। जल तथा मौसम विज्ञान विभागले बुधबार साँझ लुम्बिनीसहित सुदूरपश्चिम, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५ः४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७ः४५ बजे समाप्त हुने सम्भावना रहेको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
विभागका अनुसार बुधबार सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्ला, मधेश प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला र कोशी प्रदेशको मोरङसहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ ।
सोही सूचनाका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार बेलुकी सूचना जारी गरेर सावधानी अपनाउन आह्वान गरेको छ ।
सकेसम्म घरबाहिर हिँडडुल नगर्न, झ्यालढोका राम्रोसँग बन्द गर्न, जस्तालगायतबाट बनेको छाने कमजोर छ भने बन्धन बलियो बनाउन, घरबाहिर आगो नबाल्न प्राधिकरणले सुझाव दिएको छ ।
यसैगरी लड्नसक्ने कमजोर संरचना, अग्ला रुख, खम्बा नजिक र बिजुलीको तारमुनि नबस्न र बिजुलीको तार लत्रिएको छ भने नछुन पनि सुझाइएको छ ।
यसैगरी जल तथा मौसम विज्ञान विभागले आज पनि मेघगर्जन, चट्याङ्ग, असिना सहित पानी पर्ने प्रणालीले देशका धेरै ठाउँहरूमा प्रभाव पार्ने भएकाले सतर्कता अपनाउन पनि सबैलाई अनुरोध गरेको छ ।



