पाल्पा । बिहानैदेखि परिरहेको सिमसिम पानी । चिसिएको मौसम । यही मौसमकाबीच चर्चित गायकद्धय शिरीष देवकोटा र खेम सेञ्चुरीले आइतवार पाल्पा सदरमुकाममा सांगीतिक प्रस्तुति दिए ।
‘पाल्पा महोत्सव’मा चौथो दिनको मुख्य आकर्षणका रुपमा तानसेन आएका यी दुई गायकले आफ्ना चर्चित गीतहरु दर्शकसामु प्रस्तुत गरे ।
खेमको तानसेनमा पहिलो सांगीतिक प्रस्तुति थियो । उनले महोत्सवमा दर्शक दीर्घाबाट आएको ‘वान्समोर’का कारण ‘सुर्ति माड्दै माड्दै गयो जोवन’ गीत दुई पटक गाए ।
‘सोँचेझै जिन्दगी रैनछ’, ‘खोली तारी देउन माझी दाई’ लगायतका गीत गाउँदा दर्शकले हुटिङ, ताली र नाचेर साथ दिएका थिए ।
अधिकांश हिट गीत भएका कारण पनि उनको प्रस्तुतिमा दर्शक निकै झुमेको देखिन्थ्यो ।
उनको प्रस्तुतिपछि स्टेजमा उक्लिएका गायक शिरीषले पनि गृहजिल्लामा दर्शकलाई सांगीतिक प्रस्तुतिमार्फत भरपुर मनोरञ्जन प्रदान गरे ।
‘रोइला किङ’ भनेर दर्शकमाझ परिचित शिरीषले रोइलासँगै लोकदोहोरी गीत समेत गाए ।
‘माया लाउन मिल्छ र ?’, ‘म त आउने थिइन् यहि चाल होला भन्याभा’ जस्ता रोइला गीतमा शिरीषले दर्शकलाई नचाए ।
‘चाँचर’, ‘प्याउली पलाइ छ’ लगायतका लोकदोहोरी गीतमार्फत पनि उनले उपस्थित दर्शकलाई झुमाउन सफल रहे । आइतवार गायिकाद्धय कालिका रोका र ममता कोइरालाको समेत प्रस्तुति रह्यो । साथमा, कलाकेन्द्रहरुको नृत्य प्रस्तुति समेत आइतवार रहेको सांस्कृतिक संयोजक भीम बहादुर श्रेष्ठले बताए ।
मौसमको प्रभावले दर्शकको उपस्थिति आइतवार केही कम रहेपनि निराशाजनक भने नभएको आयोजक पाल्पा उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सवमा सोमवार चर्चित गायक बद्री पंगेनी र गायिका शान्तीश्री परियार मुख्य आकर्षणका रुपमा रहनेछन् । साथमा, हास्य कलाकार सुमित कुमार घिमिरे र गायिका तुलसा गाहाको समेत प्रस्तुति रहनेछ ।
आइतवारसम्म शितल शर्माको उद्घोषण महोत्सवमा रहे पनि सोमबारको सांगीतिक कार्यक्रमलाई बिन्दु कार्कीले उद्घोषण गर्नेछिन् । सोमवार आइडल उद्घोषकका रुपमा भने शिव भट्टराई रहनेछन् ।
महोत्सव २४ वैशाखसम्म चल्नेछ ।