पाल्पा सदरमुकाम तानसेनमा ‘पाल्पा महोत्सव’ जारी छ ।

वैशाख १४ गतेबाट सुरु भएको महोत्सवमा शुक्रवार दर्शकको सर्वाधिक भिड रह्यो । स्टल, वालउद्यानदेखि सांगीतिक प्रस्तुतितर्फ दर्शक खचाखच रहे । विशेषगरी सांगीतिक कार्यक्रममा दर्शक निकै रमाएको देखियो ।

शुक्रवार मुख्य आकर्षणका रुपमा चर्चित लोकगायक खुमन अधिकारी रहे । उनले आफ्ना नयाँ पुराना एकपछि अर्को गीतमार्फत दर्शकलाई झुमाउन सफल रहे । खुमन प्रस्तुति हेर्न टाढा टाढाबाट आएका दर्शकहरु उनको प्रस्तुतिमा ताली बजाएर, हुटिङ गरेर एवं नाचेर साथ दिए । हरेक उमेर समूहका दर्शक खुमनको प्रस्तुतिमा रमाएको देखियो ।

अग्रज लोकगायक ईन्द्र जिसीदेखि गायिका शिलु भट्टराई, गायक हुम गैरे, गायिका लक्ष्मी नेपालीले पनि दर्शकलाई नचाउन सफल रहे ।
कलाकार किरण चित्रकार र सुमित कुमार घिमिरेको हास्य प्रस्तुतिमा पनि दर्शकहरु रमाए । बेलुकापख कलाकारहरुले दोहोरी समेत गाए । चर्चित उद्घोषिका मञ्जु पौडेलको उद्घोषणले पनि विशेष रौनक थप्यो ।

महोत्सवमा हिजोको दर्शकको उपस्थिति आजसम्मकै सर्वाधिक रहेको आयोजक पाल्पा उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सव प्रचारप्रसार उपसमिति संयोजक विदुर घिमिरेले शुक्रवार २० हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेको जानकारी दिए ।

‘१७ हजार बढी टिकट बिक्री भएको छ । हिजो झण्डै २० हजार बढीले महोत्सव अवलोकन गर्नुभयो’ उनले भने, –‘हिजोको दर्शकको उपस्थिति महोत्सवमा आजसम्मकै सर्वाधिक हो ।’

गायक खुमन अधिकारीले पनि दर्शकको उल्लेख्य सहभागितामा प्रस्तुति गर्न पाउँदा खुशी लागेको बताए । उनले आफ्नो प्रस्तुति हेर्न आउने र प्रस्तुतिमा साथ दिने दर्शकलाई धन्यवाद दिए ।

पाल्पा उद्योग वाविणज्य संघले झण्डै ५ वर्षपछि टुँडिखेलमा गरेको महोत्सव आइतवार सकिँदैछ ।

तपाईको प्रतिक्रिया