
तानसेन। राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । पाल्पाको रानीमहलमा शनिबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।
आर्मीको दिल सुनार र दुर्गाप्रसाद महतोको जोडीले पुलिसको इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा हरायो । उपाधिसहित आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
उपविजेता बनेको पुलिसले एक लाख रुपैयाँमा चित्त बुझाएको छ । अर्को विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफको टिमले कर्णाली प्रदेशलाई २१–१८ र २१–१७ को सोझो सेटमा हराउँदै तेस्रो बन्यो । एपीएफले ५० हजार र कर्णालीले २५ हजार रुपैयाँ प्राप्त गर्यो ।
आर्मीलाई उपाधि जिताउन महत्वपुर्ण भूमिका खेलेका दिल सुनार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने । सुनारले १० हजार रुपैयाँ प्राप्त गरे । चैत २८ गतेबाट रानीमहल प्राङ्गणमा सुरु भएको प्रतियोगितामा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश गरि ५ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरि ९ टोली सहभागी थिए ।
राष्ट्रिय खेलकुद परिषद् राखेपको मुख्य सहयोग र सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा सञ्चालित प्रतियोगिता रानीमहललाई विच भलिबलको हब बनाउने उद्धेश्यका साथ गत वर्षदेखि सुरुआत गरिएको थियो ।
समापन समारोहका प्रमुख अतिथी प्रदेश सभा सदस्य वीरबहादुर राना, फाउन्डेसनकी अध्यक्ष निरोज मास्केलगायतले विजेता खेलाडी र टिमलाई पुरस्कृत गरे।
खेलकुदमार्फत पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यका साथ सञ्जय मेमोरियल फाउन्डेसनले कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ ।