
तानसेन। पाल्पाको रिब्दीकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५३ करोड ६८ हजार रुपैयाँको सार्वजनिक गरेको छ । १३ औं गाउँसभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम अनुसार दोस्रो बैठकमा पालिकाकी उपाध्यक्ष कान्ता अधिकारीले पुँजीगत २३ करोड ५६ लाख ६४ हजार र चालुतर्फ २९ करोड ४४ लाख ४ हजार खर्च बराबरको बजेट प्रस्तुत गरेकी हुन् । संघीय सरकार वित्तीय समानीकरण अनुदान ८ करोड ४९ लाख, राजस्व बाँडफाँडमार्फत ७ करोड ९३ लाख ३६ हजार ४ सय, समपूरक अनुदान ७५ लाख, विशेष अनुदान १ करोड, ससर्त अनुदान २६ करोड २८ लाख रहेको उपाध्यक्ष अधिकारीले बताइन् । संघीय सरकारको ससर्त अनुदानअन्तर्गत शिक्षा, स्वास्थ्य, आयुर्वेद, कृषि, पशु, नवीकरणीय उर्जा, प्रधानमन्त्री रोजगार, झोलुंगे पुल, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणमा खर्च हुनेछ ।
प्रदेश सरकार वित्तीय समानीकरण अनुदान ५९ लाख १८ हजार, राजस्व बाँडफाँड ४४ लाख ३८ हजार, समपुरक अनुदान १ करोड, विशेष अनुदान ६० लाख, ससर्त अनुदान ८६ लाख ५० हजार रुपैयाँ छ ।
यसैगरी गाउँपालिकाको आन्तरिक स्रोतबाट ७३ लाख ७७ हजार, जलविद्युत् रोयल्टी, खानी तथा वन रोयल्टीबाट अनुमानित ४० लाख, चालु आर्थिक वर्षको बचत हुने रकम १ करोड ५० लाख तथा अन्य विविध आम्दानी र संघसंस्था सहयोगबाट १ करोड ३६ लाख ९७ हजार रहेको गाउँपालिका उपाध्यक्ष अधिकारीले बताइन् ।
चालु आर्थिक वर्षमा खर्च ६७ दशमलव ६० र पुँजीगततर्फ ७६ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बताए । पुँजीगत बजेट खर्चमा सुधार ल्याउन र विकास निर्माणमा गुणस्तर कायम गर्न जेठ मसान्तपश्चात् भुक्तानी नदिने नीतिअनुरुप वडा अन्तर्गतको विकास खर्च भुक्तानी गर्ने कार्य लगभग सकिएको अर्यालले बताए । संघीय र प्रदेश सरकारको बजेट अख्तियारी ढिलो प्राप्त भएकाले कतिपय ठूला योजना भने सम्पन्न हुन बाँकी रहेको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताए ।
चालु आर्थिक वर्षमा गाउँपालिकाले एकीकृत घुम्ती शिविरमार्फत ४ वडामा ८५० नागरिकलाई सेवा दिएको र उत्पादनमा आधारित अनुदानअन्तर्गत दूध, गोलभेँडा, सुन्तलामा ४ सय १५ किसानलाई बैंक खातामार्फत अनुदान दिएको अध्यक्ष कार्कीले बताए । गाउँपालिकाले ुम बनाउँछु मेरो रिब्दीकोटु कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रम गरी २१ लाख ८१ हजार बराबरको काम भएको जनाएको छ ।
गाउँपालिकाले ‘एक टोल एक सामूहिक खेती’अन्तर्गत स्थलगत तालिमका लागि ३० लाख, उत्पादनमा आधारित अनुदान, कृषिउपज उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्ने, किसानलाई अनुदानको दायरा विस्तार गर्न ५० लाख, जलेश्वर पर्यटन पूर्वाधारका लागि १ करोड ५० लाख विनियोजन गरेको छ । श्रम र श्रमिकको मर्यादा हुने गरी रोजगारी सिर्जना गर्न र ५ वर्षे रणनीति योजना निर्माणका लागि ४९ लाख ११ हजार विनियोजन गरेको बजेटमा उल्लेख छ ।