
तानसेन। ऐतिहासिक र पर्यटकीय शहरको परिचय बनाएको पाल्पा सदरमुकाम तानसेनमा खानेपानी नियमित र व्यवस्थित हुन नसक्दा यहाँको हरेक क्षेत्र प्रभावित भएको छ ।
लामो समयदेखि खानेपानी उपभोक्ता समितिको निर्वाचन हुन नसक्दा र पुरानो समितिबाट आवश्यक काम समेत नहुँदा खानेपानीको समस्या थपिएको नगरबासीको गुनासो छ । यसैबीच तानसेन नगरपलिकाले हालै आएर नयाँ उपभोक्ता समितिको निर्वाचनका लागि उपभोक्ताको भेलाबाट तर्दथ समिति चयन गरेको छ ।
हालै गठन भएको तानसेन खानेपानी उपभोक्ता तदर्थ समितिले सकेसम्म तीनदेखि छ महिनाभित्रै नयाँ समिति बनाउने र खानेपानीको समस्याको निकास दिने जनाएको छ ।
उक्त समितिले पत्रकार सम्मेलन गरेर आफूहरूलाई नगरपालिका र उपभोक्ताको भेलाले जे म्याण्डेड दिएको हो, सोही अनुसार काममा लागेको जनाएको हो ।
समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले सकेसम्म तीन/चार महिनाभित्र नयाँ समिति आउने गरी निर्वाचन प्रक्रिया अगाडि बढाउँछौँ, त्यसका लागि तयारी भइरहेको जानकारी दिए ।
उनले तानसेनका उपभोक्ताले खानेपानी सहज रुपमा वितरण गर्ने समेत गर्ने बताए। तदर्थ समितिले पदबहाली गरेपछि खानेपानी व्यवस्थापन सुधार, कार्यालयका कर्मचारीबारे बुझ्ने, मुल तथा वितरण प्रणाली अनुगमन गर्ने काम सकिएको जनाएको छ ।
यस्तै पुरानो समितिले कार्यालयमा लगाएको ताला समेत तोडेर नयाँ समितिले कामको थालनी गरेको जनाएको छ ।