
तानसेन । गएरातिदेखि परेको वर्षासङ्गै पहिरो खसेर अवरुद्ध भएका पाल्पाका मुख्य सडकहरू सवारी आवागमन सुरु भएको छ।अविरल वर्षातका कारण सडकमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग, कालीगण्डकी कोरिडोर र तानसेन तम्घास सडक खण्ड अवरुद्ध भएकोमा सडक डिभिजन पाल्पा र प्रहरीको सहयोगमा सवारी संचालन भएको हो ।
वर्षाका कारण सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका ३ दोभानस्थित हेडबक्स, गौडेपुल, भालेबास,कालीमाटी पानीमिललगायतका स्थानमा पहिरो खसेर सिद्धार्थ राजमार्गको तानसेन बुटवल खण्ड पूर्ण रूपमा बन्द भएको थियो।
यस्तै कालीगण्डकी करिडोरको रम्भा गाउँपालिकास्थित सानीखोला तथा तानसेन तम्घास सडक खण्डको तानसेन ५ ढुङ्गाखानी नजिकै खसेको ढुङासहितको पहिरो पन्छाएर सवारी संचालन भएको जिल्ल ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिए।
ट्राफिक प्रमुख मल्लका अनुसार कतिपय स्थानमा दुई तर्फी तथा केही स्थानमा एकतर्फी रुपमा सवारी संचालन भएको छ। सडक डिभिजन पाल्पाको पहलमा अहिले पनि पहिरो हटाउने कार्य जारी रह्र्को प्रहरीले जनाएको छ।