
तानसेन। पाल्पामा पछिल्लो तीन वर्षयता सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएका मुद्दामध्ये ४३ प्रतिशत सम्बन्धविच्छेदका मुद्दा रहेका छन् । आर्थिक वर्ष २०७९।८० मा एक हजार १७ मुद्दा दर्ता भएकोमा चार सय ४३ सम्बन्धविच्छेदका रहेका जिल्ला अदालतका तहसिलदार भेषराज खनालले बताए।
उनका अनुसार सम्बन्ध विच्छेदका तीन सय ६३ मुद्दा मात्र फ्रस्यौट भएका छन् । यस्तै गत आर्थिक वर्षमा दर्ता भएका कूल मुद्दामध्ये ७१ दशमलव ६८ प्रतिशत फस्र्यौट भएको जिल्ला अदालत पाल्पाले जनाएको छ ।
त्यस्तै, आर्थिक वर्ष ०७८।७९ मा आठ सय ३४ मुद्दा दर्ता भएकामा तीन सय ७४ मुद्दा सम्बन्धविच्छेदका थिए । सो अवधिमा दुई सय ९२ मुद्दा फस्र्यौट भएका थिए । आर्थिक वर्ष ०७७।७८ मा छ सय ३६ मुद्दा दर्ता भएकामा दुई सय २८ सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएका थिए । सो अवधिमा एक ४६ मुद्दा मात्र फस्र्यौट भएका खनालले बताए।
पछिल्लो तीन वर्षमा जिल्लामा दुई हजार चार सय ८७ मुद्दा दर्ता भएकामा एक हजार ४५ सम्बन्धविच्छेदका छन् ।अपरिपक्व उमेरमा गरिएको विवाह, प्रेम विवाह र वैदेशिक रोजगारीलगायतका कारणले सम्बन्धविच्छेद गर्ने दम्पत्तीको सङ्ख्या बढ्दै गएको पाइएको हो ।
वैदेशिक रोजगार, कम उमेरमा विवाह, प्रेम विवाह, सामाजिक सञ्जालको बढ्दो प्रयोग र अन्य पारिवारिक समस्याका कारण पछिल्ला समयमा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या बढ्दै गएको देखिएको छ ।