तानसेन। पाल्पामा बालिकाहरुलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तानसेन नगरपालिका वडा नं. ८, पाँडेखर्कका २२ वर्षीय विशाल ठडराई रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने युवकले तानसेन नगरपालिका भित्र बस्ने ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
निजले गत आइतबार बिहान उक्त नाबालिकालाई जबरजस्ती करणी गरेको तथा सोही दिन दिउँसो अर्की १३ वर्षीया बालिकालाईसमेत जवरजस्ती करणीको प्रयास गरेको उजुरीको आधारमा निजलाई पक्राउ गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार पीडित बालिकाहरुको आमालहरुले दिएको उजुरीको आधारमा निजलाई पक्राउ गरिएको हो ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ।



