तानसेनमा बजार अनुगमन, सात व्यवसायीलाई जरिवाना

तानसेन। पाल्पा सदरमुकाम तानसेनका खाद्यान्न पसलको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पासहितको संयुक्त अनुगमन टोलीले बजार गनुगमन गरेको हो।

तानसेन क्षेत्रका ९ वटा खाद्यान्न पसलहरुमा गरिएको अनुगमनका क्रममा सात वटा पसल कारबाहीमा परेका छन्।

पछिल्लो समय भारतले कम गुणस्तरका चामल निर्यातमा लगाएको रोकले पाल्पाली बजारमा परेको प्रभाव बारे बुझ्न गरिएको अनुगमनमा अग्रहरी गल्ला स्टोर्स, राधे राधे स्टोर्स टक्सारटोल, ज्ञवाली स्टोर्स, सगुन स्टोर्स सिल्खानटोल, भगवती खाद्य स्टोर्स, जैशवाल गल्ला भण्डार र थापा सप्लायर्स, बिशालबजारलाई कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले जानकारी दिइन् ।

अनुगमनका क्रममा मापडण्ड बिपरित कारोवार गरेका खाद्यान्न व्यापारीहरुलाई कारवाही गरिएको अनुगमन टोलीले जनाएको छ । कारबाहीमा परेका व्यवसायीलाई पहिलो चरणको पाँच हजारका दरले जरिवाना गरिएको छ ।

अनुगमनका क्रममा पसलहरुले प्याकेजिङ्ग नभएको चामल र सामान बेचेको, उत्पादन मिति र उपभोग्य मिति नखुलेको सामान बेचेको, खाद्यवस्तु खुला रुपमा बेचेको, तथा तौलसमेत कम पाइएको थियो ।

अनुगमन टोलीले उपभोग्य मिति सकिएका करिव चार हजार ५ सय मूल्य बराबरका दश प्रकारका खाद्यबस्तु जफत गरी नष्टसमेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया