
तानसेन। पाल्पाको रामपुर नगरपालिकाले टोल टोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । नगरपालिकाले हरेक नागरिकको सहजताको लागि टोल र वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको हो ।
पहिलो चरणमा दुरीका हिसाबले बैंकसम्म पुग्न टाढा रहेका वडाहरुबाट यो कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ । जनताको सेवा सहजताको लागि नगरपालिकाले वडा नं. १, ९ र १० का नागरिकलाई मध्यनजर गर्दै पहिलो चरणमा यो सेवा दिन लागेको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताए।
दुरी टाढा भएका कारण र बृद्ध बृद्धा भएका ज्येष्ठ नागरिकलाई बैंकसम्म पुग्नु पर्ने बाध्यता र लाइन बस्नु पर्ने सास्ती बढी भएकाले यसको अन्त्यका लागि वडा कार्यालय र टोल टेलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यक्रम अघि सारेको नगर प्रमुख थापाले बताए ।
“सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंक शाखाहरु संगको छलफल पश्चात कृषि विकास बैंक संग सम्झौता गरी आवश्यकताका आधारमा टोल टोलमा पुगेर भत्ता वितरण गर्ने सहमति गरेका छौँ” नगर प्रमुख थापाले भने ।
नगरपालिकाले आवश्यकता अनुसार नगरका सबै वडा कार्यालय र टोल टोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना अघि सारेको छ। यस्तै रामपुर नगरपालिकाको कार्यालय भवनबाटै कृषि विकास बैंकको विस्तारित सेवा कार्यालय स्थापना गरी नागरिकलाई बैंकिङ सेवा दिने थापाले बताए।
सरकारले दिने सेवा सुविधा प्राप्त गर्न पनि धेरै समय र गाडी भाडा खर्चेर जानु पर्ने वडावासीको बाध्यतालाई मध्यनजर गर्दै वडा कार्यालय र टोलबाट सामाजिक सुरक्षा वितरणको कार्यक्रम सञ्चालन गरिएको नगर प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँणले बताए।
जनतालाई घरदैलो बाटै सेवा दिनका लागि सामाजिक सुरक्षा भत्ता वडा कार्यालय र आवश्यकता अनुसार टोलमा पुगेर वितरण गरिने प्रवक्ता खाँणले बताए।
यो कार्यक्रम अन्तर्गत कृषि विकास बैंक रामपुर शाखाले आइतबार रामपुर नगरपालिका वडा नं. १ को वडा कार्यालयबाट बैंक खाता खोल्न शुरु गरेको छ । सामाजिक सुरक्षा भत्ता खाँदै आएका नागरिकको खाता खोल्नका लागि कृषि विकास बैंकको टोली वडा कार्यालय पुगेको थियो ।
खाता सञ्चालनका लागि फारम भर्ने काम वडा कार्यालयबाट गरिने र त्यस पश्चात वडा कार्यालयबाटै बैंकको चेक हस्तान्तरण गरिने कृषि विकास बैंक रामपुर शाखाका प्रबन्धक केशवराज डोटेलले जानकारी दिए।