पाल्पामा एकै दिन दुई जनाको मृत्यु

तानसेन। पाल्पामा एकै दिन दुई स्थानमा गरी दुई जना मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेन–१ उकालोपिपलका ४० वर्षीय एक पुरुष तथा रैनादेवी छहरा गाउँपालिका –२ सर्देवास्थित सिजी कम्पनीमा ट्रस बनाउने क्रममा माथिबाट खसेर एक जना गरी दुई जनाको मृत्यु भएको हो ।

जिल्लाका प्रहरी पालपाका अनुसार तानसेन १ का खुमबहादुर सार्की आफ्नै घरको विस्तारामा मृत अवस्थामा फेला परेका हुन् ।

बिहान अबेरसम्म पनि घरको ढोका नखोले पछि छिमेकी वीरबहादुर नेपालीले घरमा गई झ्यालबाट हेर्दा घर भित्रै सुतिरहेको अवस्थामा देखेपछि बोलाउदा समेत नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि अस्थाई प्रहरी पोष्ट भुसलडाँडा र जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी अनुसन्धान अधिकृतसहितको टोलीले सार्कीलाई मृत अवस्थामा देखेपछि प्रारम्भिक अनुसन्धान गरी शव पोष्टमार्टमको लागि पाल्पा अस्पताल पठाइएको थियो ।

सर्देवामा मृत्यु भएका कपिलवस्तुको महाराजगंज नगरपालिका–६ सहरनियाका ३० वर्षीय ईजमान खान अचानक २२ मिटर माथिबाट तल खस्न गई घाइते भएपछि उपचारको क्रममा मिसन अस्पतालमा मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता सुगन्ध श्रेष्ठले जानकारी दिए ।

दुवै घटनाको विषयमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer