
तानसेन। जापानका नागरिकले आगलागीका घटनालाई नियन्त्रणमा सहयोग पुग्ने वारुण यन्त्र (दमकल) सहयोग गर्ने भएका छन् । आगलागीका घटनालाई नियन्त्रण गर्न सहयोग पुगोस् भनेर जापानका नागरिकको सहयोगबाट रैनादेवी छहरा गाउँपालिकालाई वारुण दिन लागिएको हो ।
एक करोड बढी लागत पर्ने वारुण यन्त्र पालिकालाई दिने तयारी गरेको गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले जानकारी दिए। रैनादेवीसंगै छिमेकी पालिकाका विभिन्न स्थानमा आगलागीका घटनालाई नियन्त्रणमा लिन वारुण यन्त्रले सहयोग पुग्ने विश्वास पालिकाकाले लिएको छ। वारुण यन्त्र सञ्चालन र व्यवस्थापनको जिम्मेवारी पालिकाले लिनेगरी सहयोग आउन लागेको हो ।
पाल्पाका दश पालिकामध्ये तानसेन नगरपालिकामा मात्र वारुण यन्त्र रहेको छ । अन्य नौ पालिकामा भने हालसम्म पनि वारुण यन्त्र नरहेको अवस्थामा पश्चिमका रिब्दीकोट तथा रैनादेवी छहरा गाउँपालिकामा यो उपकरणले आगलागी नियन्त्रणमा सहयोग पुग्ने विश्वास स्थानीले लिएका छन् ।