तानसेन। बुधबार बेलुका पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकको मृत्यु भएको छ । यस्तै दुर्घटनामा परी अन्य १४ जना घाइते रहेको प्रहरीले जनाएको छ ।

बुधबार बेलुका नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका वडा नं.४ तर्फ आउदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटनामा निस्दी गाउँपालिका वडा नं.४ का ६ वर्षीय राजिव सुनारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।

उक्त जिपमा सवार अन्य १४ जना घाइते भएका छन् । घाइतेमध्ये निस्दी ४ का २० वर्षीय तेजन सोमै, सोही स्थानकी २७ वर्षीया की धामिसग सुनारी र २८ वर्षीया  कुसुम सारु थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यस्तै जिपका चालकसहित अन्य ११ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेलाई नवलपरासी पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया