त्रिशूलीमा खसेका बसका ५ यात्रुकाे शव भेटियाे

काठमाडौं।  चितवनको नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा खसेका बसका ५ जना यात्रु मृत अवस्थामा भेटिएका छन्। आइतबार बिहान भरतपुर महानगरपालिकाको गोलाघाट र नवलपुरको गैंडाकोटमा एक एक वटा शव भेटिएसंगै बसमा सवार पाँच जना यात्रुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए।

गैंडाकोटमा भेटिएको शव भारतको विहार राज्य बेतिया जिल्लाका ४० वर्षीय सज्जाद अन्सारीको रहेको रिजालले बताए। उनका दाइ मेराज हुसेनले शवको सनाखत गरेका थिए। उनी वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल्स डिलक्सका यात्रु हुन्।

गोलाघाटमा भेटिएको शव पनि भारतको विहार पश्चिम चम्पारण बेतियाथाना बस्ने ३० वर्षीय जयप्रकाश ठाकुरको भएको पुष्टि भएको छ। उनी काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्समा चढेका थिए।

उनका दाइ ओमप्रकाश ठाकुरले शवको सनाखत गरेको डिएसपी रिजालले बताए । यसअघि शनिबार गोलाघाटमा एक र गैंडाकोटमा दुई जनाको शव फेला परेको थियो। अन्य बेपत्ता यात्रुको खोजीकर्य जारी छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer