
तानसेन। पाल्पाको तानसेन नगरपालिकामा गत आर्थिक वर्षमा जम्मा ४१ वटा विवादका उजुरी दर्ता भएको पाइएको छ । न्यायीक समितिमार्फत छिनोफानो गर्नका लागि विवादमा परेका ४१ वटा उजुरी दर्ता भएका हुन् । न्यायीक समितिकी संयोजक एवं नगरपालिकाकी उपप्रमुख प्रतीक्षा गाहा सिंजालीका अनुसार पारिवारिक विवाद, लेनदेन, घर जग्गा र जातीय छुवाछुतलगायतका विषयका विवादका उजुरी आउने गरेको पाइएको छ ।
दर्ता भएका विवादमध्ये २९ वटा मुद्दा मिलापत्र गराइएको उनले बताइन्। विभिन्न विवाद तथा घरायसी समस्या लिएर आएका २९ वटा उजुरीमा वडास्तरका मेलमिलापकतामार्फत १२ वटा र अन्य न्यायीक समितिमार्फत मेलमिलाप गरिएको संयोजक सिंजालीले बताइन ।
यस्तै १० वटा विवादलाई अन्यत्र पठाइएको र दुई वटा विवाद छलफलको क्रममा रहेको छ । यस्तै क्षेत्राधिकार भित्र नपरेको विवादहरु पनि न्यायीक समितिमा आउने गरेको उनले बताइन् ।
गत आर्थिक वर्षमा यसरी आएका ५ वटा विवादलाई ठाडो उजुरीमार्फत दुवै पक्षलाई बोलाएर मिलापत्र गराउने काम गरिएको थियाे । न्यायीक समितलाई काम गर्ने क्रममा थुप्रै चुनौतीहरु रहेकाे उनले बताइन । “दोस्रो पक्ष छलफमा बोलाउँदा नआउने, एक पटक आएर पनि थप भएको समयमा उपस्थित नहुने, दक्ष जनशक्ति नहुँदा काम गर्न समस्या र छलफलका लागि छुट्टै कक्ष नहुदाँ पनि न्याय सम्पादनमा समस्या हुने गरेको छ ।”संयोजक सिंजालीले भनिन्
विगतमा विवदका विषयमा केही जनप्रतिनिधि र माथिल्लो तहका नेताहरुबाट उजुरी दर्ता नर्गन दवाद दिने, दोस्रो पक्षलाई अनुपस्थित गराउने जस्ता समस्या रहेकोमा पछिल्लो वर्षमा भने सत्यतथ्य छानविन गरी छलफलर मिलमिलाप गर्न खासै आफूहरु सफल भएको उनले बताइन् ।