
तानसेन। पाल्पा सदरमुकाम तानसेनमा संचालित दुध डेरीमध्ये ५० प्रतिशतमा दुधको गुणस्तर पुरा नभएको पाइएको छ । स्थानीय प्रशासन र जिल्लास्थित सरोकारवाला निकायले गरेको संयुक्त अनुगमनमा भैसीको दुधको गुणस्तर कम भएको पत्ता लागेको हो।
उपभोक्ताबाट तानसेन बजारमा संचालित डेरीको दुधको गुणस्तर कम रहको गुनासो बढेपछि नगरपालिकासहितको समन्वयमा १० वटा डेरीको अनुगमन गरी नमूना परीक्षण गर्दा ५ वटा डेरीबाट बिक्री हुँदै आएको दुधको गुणस्तर पुरा नभएको भेटिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठले जानकारी दिए।
गुणस्तर नपुगेकोमा लिपिन्देवी दुग्ध डेरी उद्योग तानसेन-२, गोरस घर, जय किसान डेरी तानसेन-६, पालुङ्गे गोरस घर, तानसेन-६, तानसेन दुग्ध उत्पादक कृषक समूह, तानसेन-२ र बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तानसेन-२ रहेको प्रमुख श्रेष्ठले बताए ।
अनुगमनकी संयोगक एवं सहायक प्रमुख जिल्ला अधिकारी भक्तीसरा रानाले गुणस्तरीय वस्तु तथा सेवा उपभोग गर्न पाउने उपभोक्ताको अधिकार विपरीत कार्य गरेका डेरीहरुलाई सचेत गराई जरिवाना समेत गरिएको जानकारी दिइन् । उपभोक्ता संरक्षण ऐन २०७५ अन्तरगत सेचत गराई नगद जरिवाना गरिएको उनले बताइन् ।
यस्तै अन्य डेरीहरुमा पनि सरसफाई नगरेको, ब्राण्डिङ्ग नगरी उत्पादित वस्तुको विक्री गर्दै आएको फेला परेपछि मापदण्ड पूरा गर्न अनुगमन टोलीले सुझाव दिएका थिए।
जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तानसेन नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यपार संघलगायतका सरोकारवाला निकायका प्रतिनिधिले संयुक्त रुपमा अनुगमन गरेका थिए ।
गत जेठमा पनि उपभोक्ताबाट गुनासो आएपछि नमूना संकलन गरी परीक्षण पश्चात व्यापारी र उद्योगीलाई सचेत रहन आग्रह गरिएकोमा पुनः गुनासो बढेपनि नमूना संकलन गरी परीक्षण् गरिएको हो।