पाल्पाको दुई स्थानमा १५ हजार माछाका भुरा छाडियो

तानसेन। पाल्पाको दुई स्थानमा गरी १५ हजार माछाका भुरा छाडिएको छ । पाल्पामा सबै भन्दा लामो एरिया ओगटेर बगेको तिनाउ खोलामा दुई प्रजातिका माछाका भुरा छाडिएको हो ।

जलचरको संरक्षण गरी पारिस्थितिक प्रणालीलाई सन्तुलित बनाउन तानसेन ९ को अम्लिहान र तिनाउको झुम्सा क्षेत्रमा राहु र नैनी जातका १५ हजार माछाका भुरा छाडिएको हो ।

माछाका भुरा छाड्ने कार्यक्रममा बोल्दै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापति ठाकुर प्रसाद गैरेले मानव अतिक्रमणमा परेर जलचर विनाश हुँदै गएको हुँदा माछाको भुरा छाडिएको बताए। उनले तिनाउ खोलामा छाडिएको भुरा माछाले पारिस्थितिक प्रणाली जोगाउन मद्दत गर्ने र आउँदो दिनमा माछाबाट व्यवासाय गर्न टेवा पुग्ने बताए ।

तिनाउ खोलाको मुहानदेखि रुपन्देहीसम्म पर्ने पाल्पा क्षेत्रमा छाडिएका माछाको संरक्षणमा स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायले ध्यान दिन पनि उनले निर्देशन दिएका छन् ।

नेपालमा तिनाउ नदीजस्ता खोलामा १२ प्रकारमा माछा पाइने र त्यसले नदीमा हुने जीवको सन्तुलन कायम गर्न सहयोग गरेको नेपाल कृषि अनुसन्धान परिषद् नार्कका प्रशासन प्रमुख नवीनप्रकाश पौडेलले बताए। उनले छाडिएका भुरा माछा तीन महिनापछि हुर्कने बताउदै असारदेखि असोजसम्मको समयमा माछा मार्नबाट रोकेर त्यसले प्रजनन प्रक्रियामा सहयोग गर्न ध्यान दिनुपर्नेमा जोड दिए।

पशु तथा मत्य अनुसन्धान निर्देशनालय, नेपाल कृषि अनुसन्धान परिषद् र मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्धन स्रोत केन्द्र भैरहवाको प्राविधिक सहयोगमा तिनाउ नदीको अम्लिहान र झुम्साबाट १५ हजार माछाका भुरा छाडिएको हो ।

छाडिएको माछाको संरक्षणका लागि प्रहरी प्रशासन र नागरिकको महत्वपूर्ण भूमिका रहने पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताए।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, तानसेन र माथागढीका जनप्रतिनिधि, स्थानीय किसानहरुको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer