तानसेन। पाल्पामा पर्यटन पर्वधन गर्नका लागि दुई दिने साइकल यात्रा सुरु भएको छ। ‘हेरिटेज राइड–२०८१’ को नाम दिइएको यात्रामा जिल्लाका एतिहासिक, धार्मिक र सांस्कृतिका स्थलको अवलोकन गराइने आयोजक पाल्पा साइक्लिङ संघले जनाएको छ ।
हेरिटेज राइड बिहान तानसेनको टुंडिखेलबाट सुरु भएको छ । पाल्पासहित देश विभिन्न जिल्लाबाट सहभागी हुन आएका एक सय ५० खेलाडीलाई जिल्लामा भएका ऐतिहासिक पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराउने र आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने उद्देश्य अनुरुप सम्पदा यात्रा सुरु गरिएको संघका अध्यक्ष रुपेश महर्जनले जानकारी दिए।
बिहान पाल्पा दरबार संग्रहालयबाट सुरु भएको साइकल यात्रीको टोलीले भैरवस्थान मन्दिर, अर्गेली दरबार, रुरु ऋषिकेश मन्दिर, रिडी,रानीमहल, देवदत्तपार्क, लिस्ने भिर लगायतका धार्मिक तथा ऐतिहासिक क्षेत्रको परिक्रमा गर्नेछ।
यात्राका क्रममा स्थानीय कला संस्कृतिको प्रस्तुति समेत राखिएको आयोजकले जनाएको छ । साइकल यात्रा दुई दिनसम्म चल्ने छ। साइकल यात्रामा १४ देखि ६५ वर्ष उमेर समूहका महिला पुरुष, वालक तथा अपांगता भएका व्यक्तिको पनि सहभागिता रहने बताइएको छ ।