पाल्पा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि लैजाँदा समर्थक र कार्यकर्ताहरूले गरेको प्रदर्शन गलत नियतले भइरहेको आलोचना गरेका छन् ।
मन्त्री अधिकारीले उक्त प्रदर्शनलाई गलत कामको ढाकछोप गर्ने प्रयास भइरहेको आरोप लगाए । लामिछानेमाथि लागेको आरोपमा अनुसन्धानको प्रक्रिया अघि बढाउने क्रममा उनका समर्थकहरूले गरेको प्रदर्शनप्रति असन्तोष व्यक्त गर्दै मन्त्री अधिकारीले कानुनी प्रक्रिया सबैका लागि समान हुनुपर्ने बताए । मन्त्री अधिकारीले कुनै पनि दबाब वा प्रदर्शनले कानुनी कारबाहीमा अवरोध गर्नु उचित नहुने धारणा व्यक्त गनरे ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाले बुधबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले सहकारी संस्थाहरूमा भएको बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीमार्फत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको बताए ।
मन्त्री अधिकारीले सहकारी संस्थाहरूमा बचतकर्ताहरूको रकमको सुरक्षा सुनिश्चित गर्न र गलत कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । मन्त्रीले सहकारी क्षेत्रमा देखिएको अपारदर्शिता, भ्रष्टाचार, र अनियमितताहरूको गम्भीर छानबिन भइरहेको र दोषीलाई कारबाही गरिने स्पष्ट पारे ।
मन्त्री अधिकारीका अनुसार समितिको प्रतिवेदनअनुसार आवश्यक कदम चाल्न सुरक्षा निकाय र सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको छ । यो प्रक्रियामा कुनै पनि प्रकारको राजनीतिक दबाब वा प्रभावलाई नसहने र सरकार बचतकर्ताहरूको अधिकार र हितको संरक्षण पहिलो प्राथमिकता हुने उनको भनाइ थियो ।