झुम्साखोलाको ६८ किलोवाट विद्युत राष्ट्रिय प्रशारणमा जोडियो

तानसेन।  झुम्साखोला लघु जलविद्युत् आयोजना तेस्रो राष्ट्रिय प्रशारण प्रणालीमा जोडिएको छ । माथागढी गाउँपालिकाभित्र संचालित लघु जलविदुतमध्येको सबै भन्दा ठूलो मानिएको वडा नं.५, हात्तीलुङ्गस्थित झुम्साखोलामा संचालित प्रणाली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो।

योसंगै सहकारी संस्थाबाट सञ्चालित लघु जलविद्युतले उत्पादन गर्दै आएको ६८ किलोवाट जलविद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।

विद्युत जडानका लागि नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट ५० लाख, राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाजबाट १० लाख, नेपाल ऊर्जा प्रतिष्ठानबाट १२ लाख र उपभोक्ताको सेयर रकम २२ लाख, माथागढी गाउँपालिकाको ३३ लाख लगानी गरेको माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताए।

हाल ३० किलोवाट विद्युत उत्पादन गर्दै आएको यो आयोजना पूर्ण रुपमा संचालन गर्दा ६८ किलोवाट विद्युत उत्पादन गर्नेछ । यो आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिएपछि स्थानीयले २४ सैं घण्टा विदुत उपभोग गर्न पाउने भएका छन् । राष्ट्रिय प्रशारणमा समस्या आएमा लघुबाट र लघुबाट कम उत्पादन भएको राष्ट्रिय प्रशारण लाइन सोझै उपभोग गर्न मिल्नेगरी व्यवस्था मिलाइएको छ ।

स्थानीयले उत्पादन गरेको लघु जलविद्युतलाई हिउँद र वर्ष सिजन गरी दुई चरणमा विक्रीको प्रबन्ध मिलाइएको सहकारी संस्थाका अध्यक्ष मीनबहादुर बाह्रघरेले बताए। हिउँमा चार रुपैँया ४० पैंसा प्रति युनिट र वर्षाको सिजनमा ८ रुपैंया ४० पैसा प्रति युनिटमा विद्युत विक्रीको व्यवस्था मिलाइएको अध्यक्ष बाह्रघरेले बताए।

झुम्साखोला लघुजलविद्युतले उत्पादन गर्दै आएको विद्युत् माथागढी वडा नं. ५ र ६ का ५१७ घरधुरी उपभोक्ताले उपयोग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया