रानीमहल जोखिममा

तानसेन।  कालीगण्डकी नदीले ऐतिहासिक रानीमहल दरबारको जगलाई निरन्तर कटान गरेपछि रानीमहल दरबार जोखिममा परेको छ । कालीगण्डकी नदीको धार रानीमहलको जगतर्फ सोझिँदा ऐतिहासिक दरबार जोखिममा परेको हो ।

तानसेन–१४ मा रहेको ऐतिहासिक रानीमहल रहेको जग तलबाट कालीगण्डकी नदी बगेको छ । नदीको बहावले रानीमहल रहेको तल्लो भागमा ‘भ्वाङ’ परेको यहाँका सरोकारवालाको भनाइ छ ।

रानीमहलको जग तल बगेको नदीले रानीमहलतर्फको चट्टान काटेर सात फिटभित्र पसेको चार वर्षअघि नै गोताखोरको समूहले सूचित गरेको थियो । सो क्षेत्र निरन्तर कटान भए रानीमहल दरबार भासिन सक्ने जोखिम बढेको हो।

१२७ वर्ष पुरानो रानीमहलको जगको कटान रोकेर रानीमहल दरबार संरक्षण गर्न नगरपालिका र पुरातत्व विभागले ध्यान दिनुपर्ने प्रतिनिधि सभाका सदस्य ठाकुर गैरेले बताए। रानीमहल पाल्पासहित नेपालकै एउटा ऐतिहासिक एवं सांस्कृतिक सम्पदा भएकाले यसको संरक्षणमा सबैले ध्यान दिनका लागि आफूले सदनमा समेत कुरा उठाएको गैरेले बताए ।

रानीमहलको जगमा कटान रोक्नका लागि चालु आर्थिक वर्ष २०८१/८२ मा एक करोड रुपियाँ बजेट विनियोजन भएको छ । जग कटान रोक्न प्रारम्भिक काम गर्न यो आवमा एक करोड रुपियाँ बजेट परेको र त्यसबाट आवश्यक काम गर्ने तयारी भइरहेको जनता तटबन्ध कार्यक्रम बुटवलका प्रमुख शम्भुराज पण्डितले बताए।

रानीमहल  अवलोकनका लागि हरेक वर्ष तीन लाख बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । रानीमहललाई प्रेमको प्रतीकका रूपमा समेत लिइने हुँदा प्रमील जोडिहरु अवलोकनका लागि धेरै आउने गरेको पाइन्छ।

तपाईको प्रतिक्रिया