तानसेन नगरस्तरीय दोस्रो मेयर कप फुटबलको उपाधि वडा न १ लाई

तानसेन। तानसेन नगरस्तरीय दोस्त्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि तानसेन वडा नं.१ ले हात पारेको छ । तानसेन वडा नं. १ र ९ बिच भएको फाइनल खेलमा वडा न १ ले वडा न ९ लाई पछि पार्दै उपाधि हात पार्न सफल भएको हो ।

तानसेनको टुडिखेल मैदानमा सञ्चालन भएको तानसेन नगर स्तरीय दोस्रो मेयर कप प्रतियोगितामा वडा न १ ले ३ गोल गर्न सफल भएको थियो भने तानसेन वडा न ९ ले २ गोल हान्न सफल भयो । प्रतियोगितामा प्रथम हुने तानसेन वडा न १ ले १ लाख ५५ हजार ५ सय ५५ रूपैयाँ नगद,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । भने, द्वितीय हुने तानसेन वडा न ९ ले ७५ हजार ५ सय ५५ रूपैयाँ शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

पुरस्कार वितरण गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले खेलकुदले समाजमा एकता, अनुशासन, र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने बताए। उनले प्रतियोगितामार्फत नगरका युवाहरूको प्रतिभा र क्षमता उजागर गर्ने एउटा महत्वपूर्ण अवसर बनेको बताए। मेयर कपको मुख्य उद्देश्य नगरका युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने मंच उपलब्ध गराउनु हो । यस प्रतियोगिताले केवल खेल मात्र होइन, एकता, अनुशासन, र सहकार्यको महत्त्वलाई पनि सिकाएको नगर प्रमुख श्रेष्ठको भनाइ थियो ।

नगरपालिकाका उप प्रमुख प्रतिक्षा गाहा सिङ्जालीले नगरका प्रतिभाशाली युवा खेलाडीहरूको क्षमता उजागर गर्नु र खेलकुदमार्फत आपसी भाइचारा, अनुशासन, र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्न प्रतियोगिताले महोत्वपुर्ण भूमिका खेल्ने बताइन् । नगरपालिकाले खेलकुदलाई नगरको विकास र युवाहरूको उत्थानको एउटा महत्त्वपूर्ण माध्यमका रूपमा लिएको बताउँदै उनले भविष्यमा यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिँदै, खेलकुद पूर्वाधार निर्माण, प्रशिक्षण कार्यक्रम सञ्चालन, र खेलकुदमैत्री वातावरण सिर्जना गर्न नगरपालिका प्रतिबद्व रहने बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत हरीराम नागिला,नगरपालिकाका प्रवक्ता यादब सिङ कार्की,वडा न १ का वडा अध्यक्ष सुनिल कुमार बस्याल,वडा न ३ का वडा अध्यक्ष बाबू रत्न शाक्य,तानसेन वडा न ९ का वडा अध्यक्ष राजेश कुमार अर्याल,नगरपालिकाका कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम तानसेन नगरपालिका वडा न ४ का वडा अध्यक्ष एवम तानसेन नगरपालिका खेलकुद विकास समितिका संयोजक हेमन्त राज शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया