
तानसेन। प्रथम अकला कप २०८१ अन्तर्गत खुल्ला टोल स्तरीय पुरुष भलिबल प्रतियोगिता रामपुर ७ आमडाँडा पाल्पामा मंगलबार सम्पन्न भएको छ । अकला युथ क्लव रामपुर ७ आमडाँडा पाल्पाको आयोजनामा भएको प्रतियोगिताको उपाधि मोहमी युवा क्लव चापाकोट ६ स्याङ्जाले जितेको छ ।
लाङ्घाली उत्थान समाज पूर्वखोला १ सिलुवालाई सोझो सेटमा हराउँदै मोहमी युवा क्लवले उपाधि हात पारेको हो । यस्तै जेवाईसि युथ क्लबलाई २-० को सोझो सेटमा हराउँदै मकैडाँडा युवा क्लवले तृतीय स्थान हासिल गरेको छ । यससंगै विजेता,उपविजेता र तृतीय हुने समूहले नगद ३० हजार ,२० हजार र १० हजारसहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
विजयी समूहलाई पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले टोल टोलमा हुने विभिन्न खेलकुद प्रतियोगिताले स्थानीय स्तरमा रहेका खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सघाउ पुगेको बताइन् । उनले स्थानीय स्तरमा हुने प्रतियोगिता खेलाडीको खेल भविष्यको मार्गदर्शक भएको बताउँदै खेलले अनुशासनसंगै सभ्य नागरिक बन्न सघाउ पुर्याउने उल्लेख गरिन् । सिमित स्रोत र साधनका बिच पनि खेलकुदलाई उच्च प्राथमिकता दिएको भन्दै खेलाडीलाई उच्च मनोबलका साथ खेलमा लाग्न आग्रह गरिन्।
कार्यक्रममा बोल्दै रामपुर नगरपालिका वडा नं.७ का अध्यक्ष दोवराज तिवारीले खेलकुदले राष्ट्रलाई चिनाउने बताए। माघ ६ गते देखि सुरु भएको खुल्ला टोल स्तरीय पुरुष भलिबल प्रतियोगितामा १७ समूहको सहभागीता रहेको थियो ।
क्लवका अध्यक्ष रामु क्षेत्रीको अध्यक्षतामा भएको पुरस्कार वितरण तथा समापन कार्यक्रम क्लवका सहसचिव सागर कंडेलको स्वागत तथा क्लवका सदस्य डोलराज श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।