
पाल्पा । तानसेन नगरपालिका–७, बर्तुङको देवकोटाचोकमा यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भएसँगै चहलपहल हुन थालेको छ । यातायात व्यवस्था सेवा कार्यालय स्थापनासँगै यहाँको चहलपहल र व्यापारिक गतिविधिमा उल्लेख्य वृद्धि भएपछि यस क्षेत्रका स्थानीयबासिन्दाहरु उत्साहित बनेका हुन ।
दिनहु जसो सयौंको संख्यामा यातायात कार्यालयबाट सेवा लिनेहरुको घुइँचोले स्थानीय स्तरमा रहेका होटेल व्यवसाय फस्टाउन थालेका छन् । “पहिला यातायात कार्यालय नहुँदा मानिसको चहलपहल थिएन, सुनसान थियो । होटेल पसल तथा ठेलामा खासै व्यापार भएको थिएन तर अहिले व्यापार पनि राम्रै चलिरहेको छ” होटल व्यवसायी हरि थापाको भनाई छ ।
“होटल व्यवसाय सञ्चालनबाट आफ्नो परिवारको गुजारा चलिरहेको छ,” होटेल व्यवसायी विष्णु देवकोटाको भनाई छ । पहिला भन्दा होटल व्यवसाय चलेको छ । यातायात कार्यालय खुलेपछि यस क्षेत्रमा मानिसको चहलपहल बढेको देवकोटाले बताए ।
बर्तुङगको यातायात कार्यालय नजिकै ठेलामा चटपटे र फुल्की बेच्ने दुई दिदीहरू शनिसरा सोमै र सीता रुचालले पनि चटपटे र फुल्की बेचेर दिनकै हजार देखि १ हजार ५ सयसम्म कमाउने गरेको रुचालले बताइन् । सोमै भन्छिन्, “पहिला परिवारको गर्जो टार्न धौधौ थियो । चटपटे र फुल्की बेचेर आजभोलि परिवारको गुजारा चलाउन धेरै सजिलो भएको छ ।”
यातायात कार्यालय पाल्पा बुटबल सडक खण्डको बर्तुङगको मुख्य सडकको किनारामा रहेकोले सेवाग्राहीहरूलाई पनि सेवा लिन सहज भएको स्थानीय शरण श्रेष्ठको भनाइ छ ।
स्थानान्तरणको योजनाले चिन्तित स्थानीय
स्थानीयबासिन्दा विधान श्रेष्ठले भन्छन्, “रित्तो र सुनसान क्षेत्रमा यातायात कार्यालयको स्थापना र मानिसको चहलपहल देख्दा हामी धेरै खुसी छौ ।” तर निकट भविष्यमा यो कार्यालय यहाँ नरहने भएपछि स्थानीय चिन्तित बनेको श्रेष्ठले बताए ।
तानसेन नगरपालिका वडा नम्बर ७ का अध्यक्ष प्रदिप खनालका अनुसार अहिलेको चहलपहल वास्तवमै स्थानीयमा खुसी ल्याएको हो । तर, निकट भविष्यमै यसको कार्यालय बासटाँरी ट्रायल सेन्टरको नजिकै ठाटी भन्ज्याङमा खुल्ने, त्यसका लागि यो वर्ष डीपीआर तयार भइसकेको अध्यक्ष खनालले बताए । डीपीआर तयार भएपनि बजेट माग नभएकोले अझै केही समय बर्तुङग क्षेत्रबाट सेवा प्रवाह हुने वडा अध्यक्ष खनालको भनाइ छ ।
बर्तुङगमा रहेको यातायात कार्यालयले स्थानीयमा आर्थिक तथा सामाजिक सुधार ल्याएको छ । सेवाग्राहीहरूको चहलपहलले व्यापारिक गतिविधि फस्टाएको छ, स्थानीयहरूले गुजारा चलाउन नयाँ अवसरहरू पाएका छन् । तर, कार्यालय स्थानान्तरणको योजना कार्यान्वयनमा गएपछि यस क्षेत्रले पुन : पुरानो अवस्थामा फर्कने त होइन भन्ने चिन्ताले स्थानीयबासिन्दाहरुलाई सताइरहेको छ ।