तानसेन नगरपालिकाको एकीकृत पर्यटन तथा संरक्षण गुरुयोजना हस्तान्तरण कार्यक्रम सम्पन्न

पाल्पा । तानसेन नगरपालिका र तानसेन गुठीको आयोजनामा तानसेनको एकीकृत पर्यटन तथा संरक्षण गुरुयोजना सम्बन्धी अध्ययन प्रतिवेदनको प्रस्तुतीकरण, छलफल तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौं इञ्जिनियरिङ कलेजका विद्यार्थीहरूले ऐतिहासिक तानसेन शहरको पर्यटन आगमनको सम्भावना, चुनौती, र तानसेन नगरपालिकाले खेल्नुपर्ने भूमिकाबारे अध्ययन प्रतिवेदन प्रस्तुत गरेका थिए। अध्ययन प्रतिवेदनमा पर्यटन प्रवर्द्धन, संस्कृति संरक्षण, धार्मिक तथा ऐतिहासिक सम्पदाको व्यवस्थापन, र आधारभूत पूर्वाधारको विकास जस्ता विषय समेटिएको छ।

कार्यक्रममा प्रमुख राजनीतिक दलका जिल्ला अध्यक्षहरूको उपस्थिति रहेको थियो। सहभागीहरूमा नेपाली कांग्रेसका जिल्ला अध्यक्ष हिमाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजेन्द्र विश्वकर्मा, राप्रपाका डुलबहादुर कुवार, नेकपा समाजवादीका मोहन गैरै लगायत विभिन्न राजनीतिक, प्रशासनिक तथा नागरिक समाजका व्यक्तित्वहरू रहेका थिए।

तानसेनका पर्यटन व्यवसायी, पत्रकार तथा बुद्धिजीवीहरूले तानसेनलाई पुनः गतिशील बनाउन प्रभावकारी योजनाको आवश्यकताको चर्चा गरेका थिए। तानसेन नगरपालिका इन्जिनियर शिव शर्माले ऐतिहासिक तानसेन शहरको विशेषताबारे जानकारी गराएका थिए।

तानसेन नगरपालिकाले गुरुयोजना कार्यान्वयनका लागि आगामी योजनाबारे संक्षिप्त जानकारी गराउँदै स्थानीय बासिन्दाको सक्रिय सहभागिता अपरिहार्य रहने जनाएको छ।

कार्यक्रम तानसेन नगरपालिकाका उपमेयर प्रतिक्षा सिजालीको स्वागत मन्तव्य र नगरप्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। साथै, कार्यक्रम सामाजिक शाखाका प्रमुख भरत आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया