
तानसेन। गर्मी महिना लागेसंगै बढ्दो डढेलो नियन्त्रण गर्न डिभिजन वन कार्यालय पाल्पाले अग्निरेखा निर्माण गरेको छ । जिल्ला सदरमुकाम तानसेनको शिर श्रीनगर डाडाँको वन क्षेत्रमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीय उपभोक्ता, वन कर्मचारी गरी २ सयभन्दा बढीको सहभागितामा अग्निरेखा निर्माण गरिएको हो ।
वन ढडेलो सप्ताह मनाइ रहेका बेला जलनशील पदार्थको सरसफाई गरी सचेतनामूलक हिसाबले अग्निरेखा निर्माण गरेरिएको डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिए । हावाहुरी लाग्ने, रुख बिरुवामा पुरानो पात झरी नयाँ पात पलाउने मौसम भएकाले वन जंगलमा आगलागीका घटना न्यूनीकरण गर्न अग्निरेखा निर्माणको अभ्यास राखिएको उनले बताए ।
डढेलो नियन्त्रणका लागि अग्निरेखा सरसफाइमा तानसेनस्थित सेनाको दि फेमस महिन्द्रदलका सकल दर्जा, प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय वन उपभोक्ता, डिभिवन वन कार्यालयका कर्मचारीलगायत खटिएका थिए । अघिल्लो वर्ष श्रीनगरडाँडामा तीन पटकसम्म भीषण डढेलो लागेको थियो । श्रीनगरडाँडामा आगलागी भएमा अग्निरेखादेखि तल्लो क्षेत्रमा डढेलो तलैबाट नियन्त्रण हुनेछ । त्यस भन्दा माथिको डढेलो लागेमा माथि नै नियन्त्रण हुने गरी जंगलको बिचमा अग्निरेखा निर्माण गरिएको हो ।
जिल्लाका सबै सामुदायिक वनका पदाधिकारी, उपभोक्ता, सरोकारवाला निकायहरुलाई जनचेतना तथा आगलागी नियन्त्रणका लागि अभियानमा सहभागी गराउन निर्देशन पनि डिभिजन वन कार्यालयले दिएको जनाएको छ । यो वर्ष पनि रिब्दीकोटको देउराली र ख्याहाको जंगल, बगनासकाली गाउँपालिकाको दर्लमडाँडा, खानीगाउँ टाँकीचौर क्षेत्रका जंगलमा भीषण डडेलो लागिसकेको हुदाँ अन्य स्थानमा आगलागी हुन नदिन तथा लागेको खण्डमा नियन्त्रण र कसरी सुरक्षाका उपाए अपनाउने भन्ने विषयमा सबै स्थानीय तह, सामुदायिक वन उपभोक्ताहरु सचेत हुनका अनुरोध गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
पाल्पाका दश स्थानीय तहका ८१ वडामध्ये ३९ वटा वडा वन डढेलोको उच्च जोखिममा छ । २६ वडा मध्यम र १६ वडा न्यून जोखिममा रहेको छ । जिल्लाका ९६ प्रतिशत वनमा डढेलो मानवीय कारणले लाग्ने गरेको डिभिजन वन कार्यालयले जनाएको छ । ६४ प्रतिशत जानेर र ३२ प्रतिशत हेल्चेक्राईका कारण लाग्ने गरेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।
गत वर्ष मात्र ४ सय बढी स्थानमा डढेलोको घटना भएका थिए । जसबाट मानवीय क्षति नभए पनि ४० बढी घर तथा गोठ जलेको थियो ।