काठमाडौं। रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिको जिम्मेवारीमा फकिएका छन् । रास्वपाको केन्द्रीय समितिको सोमबार बसेको पहिलो बैठकले लामिछानेलाई सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।
आजै बसेको दोस्रो बैठक सभापति लामिछानेकै सभापतित्वमा बसेको थियो । उक्त बैठकमा पार्टी र सदनको गतिविधिबारे सदस्यबाट संक्षिप्त रिपोर्टिङ गरिने बताइएको छ ।
सोही बैठकमा ‘लिडरसिप एकेडेमी’को ‘फ्लो चार्ट’, जन यात्रा कार्यक्रम, अधिवेशन/महाधिवेशन कार्यतालिका, पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहस गर्ने विषयमा छलफल हुने जनाइएको छ ।
सहकारी ठगीलगायत चार कसुरमा आफूविरुद्ध अदालतमा मुद्दा दायर भएपछि लामिछाने सभापति पदबाट अलग भएका थिए । त्यस यता डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

