तानसेन। तीन वटा झरनाहरुको मिश्रण उत्तरतर्फ बग्ने छागा हो तीन छागा यो छागाबाट झरेको चिसो पानीसंगैको चिसो हावाले जो कसैको मन लोभ्याउने गर्दछ । समुद्री सतहदेखि करिब दुई सय मिटरको उचाईमा रहेको यस ठाउँलाई गुरु वशिष्ठले तपश्या गरेदेखि पहिचानमा आएको पाइन्छ । चारैतिर हरियाली जंगलसंगै बिचमा माथिबाट झरेको झरनाले यहाँको रौनकतामा झनै मनोरमता थपेको छ ।
तीनछांगा बगनासकाली गाउँपालिकाको वडा नम्बर ४ खानीछाप, वडा नम्बर ५ दर्लमडाडाँ र वडा नम्बर ३ नायरनम्तलेसको बीच भागमा रहेको एक धार्मिक पर्यटकीय गन्तव्य हो । जिल्ला सदरमुकाम तानसेनदेखि करिव १५ किलोमिटर उत्तरपूर्व र रामनदी धाम राम्दीबाट पाँच किलोमिटर दक्षिण पश्चिममा रहेको गुरु वशिष्ठ ऋषिले तपश्या गरेको पवित्र धार्मिक स्थलको रुपमा परिचित छ तीनछागा आवश्यक प्रचारप्रसारको अभावले ओझेलमा छ। तीनछांगा आफैमा माथिबाट झरेको तीन वटा झरनाको सितलतासंगै मनोरम दृष्यले भरिपूर्ण रहेको छ ।
धामिक, सांस्कृतिक पौराणिक कथनसंग जोडिएको यहाँको महिमा धेरै रहेपनि उचित प्रचार र पूर्वाधार निर्माण हुन नसक्दा उहाँसम्म पर्यटक पुग्न नसकेको स्थानीयको भनाइ छ । मगर र ब्राहमण समुदायको बसोबास रहेको यो स्थानको कला संस्कृति र परम्पराले पनि यस क्षेत्रलाई परिचित गराउँछ । विशेषतः मगरहरुले डम्फू र मादलको तालमा नाचिने झाम्रे र सालैजो, ठलो नाच जस्ता सास्कृति उत्सवले यस ठाउँलाई गुञ्जायमान गराउँछ । यसैगरी ब्रहामण समुदायमा पनि फागु, भजन, खेली धार्मिक एंव सांस्कृतिक महत्व राख्ने पर्वहरुमा यहाँका समुदायका मानिसहरुको सहकार्यताका साथ मनाउनु नै यस ठाउँको पहिचान हो । मगरी र ब्रहामणहरुको मिश्रीत समाज रहेको यस ठाउँका मानिसहरुले तिनछागालाई धार्मिक रुपमा हेर्ने गर्दछन । तीन वटा छांगाबाट झरेको झरना र त्यसमा पनि उत्तर फर्केको हुँदा यसलाई धार्मिक रुपमा निकै महत्व दिइएको पाइन्छ । यहाँका मानिसहरुले यस ठाउँलाई त्रिवेणी धामको रुपमा मान्दै आएका छन ।
तीनछांगाबाट करिव एक किलोमिटरको दुरीमा नवदुर्गा कालीका र शिव मन्दिरको स्थापना गरिएको छ । प्रत्येक वर्षमा असोज शुक्ल पूर्णिमाको कोजाग्रत पूर्णिमाको दिन रातभर जागराम बसी, अखण्ड कृतन गरेर अर्कोदिन बिहान तीनछांगामा लगेर फूलपाती विर्सजन गर्ने गरिन्छ । प्राकृतिक, सगँसँगै धार्मिक र साँस्कृतिक रुपमा पनि भरपूर सम्भावना रहेको यस स्थल अहिलेसम्म पनि कहिँ कसैको ध्यान पुग्न नसक्दा ओझेलमा परेको छ । परापूर्वक कालमा गुरु वशिष्ठले तपश्या गरेको यस पवित्र स्थलमा अहिलेसम्म पनि गुरुले ध्यान गर्दा बसेको पिर्का रहेको स्थानीय सोमप्रसाद अर्यालले जानकारी दिए । अर्यालका अनुसार गुरुले उत्तरतर्फ फर्केर बसेको पिर्कासंगै गुरुले खाना खादा बनाइको अगेनो समेत चमेरो गुफा नजिक रहेको छ । ढुंगै ढुंगाले बनेको भित्र छिरेपछि अनौठा आकृतीसहित भगवानका मुर्ति र स्तम्भहरु यस गुफामा देख्न सकिन्छ । अत्यन्त शान्त र अध्यारो रहेको यस गुफामा पनि गुरुले रामलाई ज्ञानका कुरा सिकाएको स्थानीयको भनाइ छ ।
प्रचार प्रसारको अभावका कारण ओझेलमा परेको यो गुफा अहिले पनि त्यहाँ पुग्ने पर्यटकहरुका लागि आकर्षणको केन्द्रको रुपमा रहेको छ । गुफामा गाईका थुनहरु मूर्तिका आकृतिहरु प्रष्टसंग देख्न सकिन्छ । ऋषिले तपश्या गरेर गएपछि यस गुफामा कसैको ध्यान नगएपछि २० औ शताब्दितिर यस ठाउँमा चमेराहरु प्रशस्त पाईने हुँदा चमेरो गुफाको नामाकरण गरिएको पाइन्छ ।
गुरु वशिष्ठले राम्दीबाट खोलाको तिरैतिर आउने क्रममा गुरुवाखोलाको भोवरी रह नजिकको जंगलमा समेत तपश्या गरेको भन्ने किंवदन्तीमा उल्लेख छ । इतिहासलाई पल्टाएर र्हेदा गुरु वशिष्ठ र रामचन्द्र भगवानले ज्ञान हासिल गर्नका लागि एकान्त ठाँउ खोज्दै जादा नायर कोटदेवीको पाउबाट बगेर आएको तीन वटा छांगा भएको ठाउँमा पुगी ज्ञान हासिल गरेको पवित्र स्थलका रुपमा मान्ने गरेको पाइन्छ । साथै गुरु वशिष्ठले भगवान श्री रामचन्द्रलाई सोही ठाउँमै धनुर्वेद साथै छ शास्त्र सम्बन्धी ज्ञान पनि सिकाएका थिए । उनले सोही समयमा वैदिक ज्ञान र राज्य संचालन सम्बन्धी ज्ञान हासिल गरेको किम्बदन्तीको आधारमा योगी नरहरीनाथ बताउँछन ।

ऋषीले तपश्या गरेका ठाउहरुमा भगवानका आकृतीहरु अहिलेसम्म पनि रहेको हुँदा यस ठाउलाइ पवित्र स्थलका रुपमा हेर्ने प्रचलन रहेको छ । परापूर्वक कालमा भगवान श्रीरामले तपश्याका लागि हिडेका बेला भगवान श्रीराम र गुरु वशिष्ठसंगै हिड्दै आउदा प्यास लागेर पानी पिउन राम्दी आएर कालीगण्डकी नदीको जल पिएको र साही ठाउमा स्नान गरेको हुनाले त्यस क्षेत्र राम्दी क्षेत्रको रुपमा पनि चिनिन्छ ।
तीनछांगा र गुरुवाखोला बगनासकाली गाउँपालिका ४ नं. वडा खानीछापमा रहेको गुडुवाखोला भौगोलिक दृष्टिकोणबाट विकट मानिएता पनि विकटतामा निकटता ल्याउने भौगोलिक अवस्थाहरु प्रसस्त पाइन्छन् । यो ठाउँ दर्ललमडाडा, नायरनम्तलेस खानीछापकै खोचमा रहेको एक अचम्म र अलौकिक स्थान हो । यो ठाँउ उत्तरतिर फर्केको पोसिलो जमिन भएका कारण यस ठाउँमा विभिन्न खालका विविधता सहितको भौगोलिक अवस्था पाउन सकिन्छ । नायरदेखि डेढ किलोमिटर तल खोच राम्दीदेखि करिब पाँच किलोमिटर दक्षिण पूर्वमा रहेको यो स्थल दाँया बाँयाबाट विरलै देख्न सकिन्छ । यो गाउँको तलले भेगमा विभिन्न प्रकारका चराचुरुगी र बन्यजन्तु पाइन्छन् ।
वास्तवमा गुरु र बा दुई वाक्यको मिश्रणबाट गुरुबा भएकोले गुरु वशिष्ठले चेला रामलाई दिक्षा दिएको हुदाँ किम्बन्तीका आधारमा सो प्रमाणलाई आधार मानी यस खोलाको नामांकन गुरुबा खोला हुन पुगेको पण्डित भिमकान्त पण्डितको भनाइ छ । किम्बदन्तीलाई आधार बनाई त्यस ठाउँमा श्रीरामको मन्दिर स्थापना गरी प्रत्येक वर्षको बैशाख महिनामा तीनछांगामा स्नान गरी पूजापाठ गर्ने प्रचलन रही आएको स्थानीय सूर्यप्रसाद अर्यालले जानकारी दिए । अहिले देशमा नयाँ र कृत्रिम धार्मिक एवं पर्यटकीय स्थालहरु बन्ने क्रममा वातावरणीय अनुकलन र पर्या पर्यटटनको निकै सम्भावना रहेको धार्मिक यो स्थानलाई उचित प्रचार गर्नुपर्ने आजको आवश्यकता हो ।
रामनदी धाम हुँदै यो क्षेत्र भएर नायरको अग्लो डाडाँबाट देखिने अन्नपूर्ण र माछापुच्छेलगायतका हिम शृखलाहरुको अवलोकनका लागि पर्यटन मार्ग तय गरेर गुरु योजना बनाउनुपर्ने देखिन्छ । कृषि र पशुपालनका लागि उपयुक्त स्थान यो ठाउँ उत्तरतर्फ फर्केको भू-वनोट भएका कारण यस ठाउमा विशेषतः सुन्तला, कागती, मौसम लगायतका अमिलो जातका फलफूलको पकेट क्षेत्रको रुपमा परिचित मानिदै आएको छ । यहाँबाट बर्सेनी लाखौं रुपैँया बराबरको सुन्तला, कागती, मौसम, केरा, भुइकटहर जस्ता फलफूल साथै काउली, बन्दा, काक्रा, टमाटर, करेला, लौका, घिरौला लगायतका मौसमी बेमौसमी तरकारीले राम्दी, गलेङ बजार, तानसेन, बुटवल साथै स्थानीय उपभोक्ताहरुको आवश्यकतालाई पूर्ती गरेको छ ।

चिसो सेपिलो र घसिलो क्षेत्र भएका कारण यहाँको पशुपालन व्यवसायका लागि पनि उत्तिकै सम्भावना छ । बाख्रापालनबाट पनि यहाँका मानिसले मनग्गे आम्दानी गरेको स्थानीय भोज बहादुर चर्ती बताउँछन । हरेक हिसावले सम्भावना भएको तर पूर्वाधार विकास र प्रचास प्सार हुन नसक्दा यस ठाउँबाट पनि बसाइ सरेर जानेको संख्या वर्षेनी बढ्दो छ ।
स्थानीयलाई गाउँमै राखेर बाह्य मानिसको समेत आर्कषण गर्न सकिने यो स्थानमा रामनदी धाम राम्दी, दर्लमकाली, नायरडाडाँ तथा तानसेनसंगै जोडेर विकास गरी स्थानीयलाई गाउँमै टिकाउनेतर्फ तीनै तहका सरकारले पहल गर्नुपर्ने आवश्यकता रहेको छ।





