बगनासकालीमा विपद् व्यवस्थापन तालिम सम्पन्न

पाल्पा । बगनासकाली गाउँपालिकामा विपद् व्यवस्थापन सम्बन्धी एक दिने आधारभूत तालिम सम्पन्न भएको छ । गाउँपालिकाको स्थानीय स्काउट समितिको आयोजनामा भएको उक्त तालिममा पालिकाभित्रका १५ वटा विद्यालयका एक सय भन्दा बढी स्काउट विद्यार्थी र शिक्षकहरूको सहभागिता थियो ।

तालिममा सशस्त्र प्रहरी बल ५ नं. गुल्म हेडक्वाटर पाल्पाका सहायक प्रहरी निरीक्षक दीपक न्यौपाने सहितको टोलीले प्राकृतिक तथा मानव सिर्जित विपद् व्यवस्थापनका उपायहरूबारे प्रयोगात्मक प्रशिक्षण दिएकाे हाे । तालिममा नेपाल रेडक्रस सोसाइटी पाल्पाका प्रमुख विनोद भारतीले प्राथमिक उपचारका विधिहरूका बारेमा सहजीकरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष सरस्वती चिदीले विपद्का समयमा हुन सक्ने क्षति न्यूनीकरणका लागि गाउँपालिका सधैँ चनाखो रहेको बताइन । “यो तालिमले आगामी दिनमा विपद्का घटनामा कम क्षति हुने र समुदायमा सचेतना फैलाउन ठूलो मद्दत पुग्ने विश्वास लिएका छौँ।” -उनले भनिन्,  ।

त्यस्तै, सशस्त्र प्रहरी बल ५ नं. गुल्म पाल्पाकी प्रमुख, प्रहरी नायव उपरीक्षक झुपा कुमारी पन्थीले विपद् जुनसुकै बेला र जहाँ पनि आउन सक्ने भएकाले पूर्वतयारीमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिन ।

पछिल्लो समय पाल्पामा आगलागी र सवारी दुर्घटना जस्ता घटना बढिरहेको भन्दै उनले दक्ष जनशक्ति उत्पादन र सचेतनाका लागि स्काउट मार्फत गरिएको यो पहलको प्रशंसा गरिन ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले विद्यार्थीहरूलाई प्रदान गरिएको यस्तो ज्ञानले समाजका धेरै क्षेत्रलाई समेट्ने बताए । स्थानीय स्काउट समितिका प्रमुख आयुक्त दयाराज न्यौपानेले स्काउट जुनसुकै कठिन परिस्थितिमा पनि सेवाका लागि तयार रहने प्रतिबद्धता जनाए।

गाउँपालिका प्रवक्ता टीकाबहादुर थापाले स्काउटलाई आगामी दिनमा पनि सामाजिक र रचनात्मक गतिविधिमा जोड्दै लैजाने नीति रहेको जानकारी दिए।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठक, वडाध्यक्षहरू, विपद् व्यवस्थापन समिति संयोजक, कर्मचारीसहितको उपस्थिति रहेको बालमैत्री फोकल पर्सन नारायण तिमिल्सेना जानकारी दिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको