तानसेन। लहरेपिपल आधारभूत स्वास्थ्य केन्द्र तानसेन नगरपालिका वडा नम्बर ६ र नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले संयुक्त रुपमा अत्याधुनिक ’ख’ वर्गको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । रोटरी क्लब अफ पाल्पाको समन्वयमा स्वीडेनकी नागरिक मारियम शोनले एनद्रस्टप रोटरी क्लब अफ स्विडेनबाट आर्थिक सहयोग गरेकी हुन् ।
सुविधासम्पन्न एम्बुलेन्सको विधिवत रुपमा वैदिक विधि अनुसार पूजाआजा गरी तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले उद्घाटन गरेका छन् । उनले नगरका बासिन्दाका साथै छिमेकका गाउँपालिकामासमेत सेवा दिने गरी सेवा संचालनमा ल्याएको बताए । ‘केही वर्षअघि नै एम्बुलेन्स संचालनमा आउने थियो,’ उनले भने, ‘संघ र प्रदेश सरकारका नीति तथा कानुनका कारण केही ढिला हुन भए पनि सुविधासम्पन्न भएकाले सबैले फाइदा पाउनेछन् ।’
पाल्पा तथा आसपासका बासिन्दालाई द्रुत, सुरक्षित र गुणस्तरीय आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ यो आधुनिक सेवा विस्तार गरिएको लहरेपिपल आधारभूत स्वास्थ्य केन्द्रका अध्यक्ष तथा वडाध्यक्ष सागरमान महर्जनले बताए । नयाँ सञ्चालनमा आएको ’ख’ वर्गको एम्बुलेन्समा बिरामीको तत्काल उपचारका लागि आवश्यक पर्ने आधुनिक जीवनरक्षक स्वास्थ्य उपकरण र सुविधा वैधानिक मापदण्ड अनुसार जडान गरिएको नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका प्रबन्धक सोवाकान्त न्यौपानेले बताए । यसले विशेष गरी जटिल स्वास्थ्य समस्या भएका बिरामीहरूलाई अस्पताल पुर्याउनु प्राथमिक उपचार र आपत्कालीन हेरचाह उपलब्ध गराउन महत्त्वपूर्ण योगदान पुर्याउने उनले बताए ।
ख वर्गको एम्बुलेन्स सञ्चालनका लागि राष्ट्रिय निर्देशिका २०७८ अनुसार स्टेथोस्कोप (हृदय तथा फोक्सोको आवाज सुन्ने उपकरण), रक्तचाप नाप्ने उपकरण, टर्च बत्ती, जिब्रो थिच्ने उपकरण, शिरामार्फत औषधि/तरल पदार्थ दिने सेट, क्यानुला तथा सिरिन्ज, मुटुको विद्युतीय गतिविधि तथा रगतमा अक्सिजनको मात्रा मापन गर्ने मोनिटर आवश्यक पर्छ ।
यसैगरी श्वासनलीमा ट्युब राख्ने उपकरणको सेट, विभिन्न प्रकारका श्वासनली ट्युब तथा ल्यारिन्जियल ट्युब, औषधिलाई वाष्प-कणमा परिणत गरी श्वासमार्फत दिने उपकरण, हातले थिचेर कृत्रिम श्वासप्रश्वास गराउने उपकरण, मुख वा श्वासनलीमा जमेको तरल पदार्थ/कफ निकाल्ने हातले चलाउने उपकरण आवश्यक पर्छ ।
घाँटी स्थिर राख्ने कलर, मुटु–फोक्सो पुनर्जीवन गर्दा बिरामीलाई राख्ने कडा बोर्ड, अक्सिजन आपूर्ति प्रणाली /अक्सिजन सिलिन्डर, स्वचालित बाह्य डिफिब्रिलेटर (मुटुको धड्कन सामान्य बनाउन विद्युतीय झट्का दिने उपकरण), प्रसूति/सुत्केरी गराउने उपकरणको सेट, घाउमा पट्टी बाँध्ने तथा उपचार गर्ने उपकरणको सेट, भाँचिएको वा चोट लागेको हातखुट्टा स्थिर राख्ने पट्टी/सहारा उपकरणसमेत राख्नुपर्ने हुन्छ । सोही अवसरमा तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख गौरव ढकाल, वडाध्यक्ष सागरमान महर्जन, नेपाल परिवार नियोजन संघका कार्य समिति सदस्य मनोहरलाल शाक्य, रोटरी क्लब अफ पाल्पाका वंकीमचन्द्र खनाल, नेपाल परिवार नियोजन संघका शाखा प्रबन्धक सोवाकान्त न्यौपानेलाई सम्मान गरिएको छ ।






