स्थानीय उत्पादन र संस्कृतिको प्रवद्र्धनमा सञ्चार माध्यमको सकारात्मक सहकार्य आवश्यक छ : राना

पाल्पा । सञ्चार मञ्च पाल्पाको १३ औँ साधारण सभा तथा सातौँ अधिवेशन शुक्रबार सम्पन्न भएको छ । तानसेनमा सम्पन्न साधारण सभाको उद्घाटन गर्दै पाल्पा क्षेत्र नं.१ का संघीय सांसद सन्दीप रानाले पाल्पाको विकास, पर्यटन र सञ्चारको भूमिका महत्वपूर्ण रहेको बताए । उनले पाल्पा पर्यटकीय र उत्पादनका दृष्टिले उच्च सम्भावनायुक्त क्षेत्र भएको बताउँदै स्थानीय उत्पादन र संस्कृतिको प्रवद्र्धनमा सञ्चार माध्यमको सकारात्मक सहकार्य आवश्यक रहेको बताए ।

उनले ऐतिहासिक भगवती जात्रालाई राष्ट्रिय क्यालेन्डरमा समावेश गरी राष्ट्रपतिको उपस्थिति गराउने र रामपुरलाई वैदिक सहरका रूपमा विकास गर्ने योजनामा मिडियाले रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए। यस्तै सञ्चार माध्यमले निष्पक्ष खबरदारी गर्दै असल अभ्यासको दीर्घकालीन अभिलेखीकरणमा सहकार्य गरी विकास निर्माण र पर्यटकीय प्रवद्र्धनका लागि मिडिया र जनप्रतिनिधिबीच बलियो साझेदारी हुनुपर्नेमा सांसद रानाले जोड दिए।

त्यस्तै, लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले पत्रकारिता केवल बाँच्नका लागि मात्र गरिने पेसा नभई निष्पक्षता र सामाजिक उत्तरदायित्व वहन गर्ने एक संवेदनशील माध्यम रहेको बताए । उनले राजनीति र नेतृत्वप्रतिको जनविश्वास खस्किँदै गएको वर्तमान अवस्थामा सञ्चार क्षेत्र राजनीतिक आस्था र स्वार्थभन्दा माथि उठ्न जरुरी रहेको बताउए । सञ्चारकर्मीले कथनी र करणीमा एकरूपता ल्याउँदै पेशागत मर्यादा र आत्मसम्मान जोगाउन आत्मसमीक्षा गर्नुपर्ने प्रदेश सभा सदस्य रानाको भनाइ थियो ।

यस्तै लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले जनप्रतिनिधि र मिडिया दुवैले सुशासन, पारदर्शिता र समृद्धिका लागि परिपूरकका रूपमा सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले समस्याको जरासम्म पुगेर पत्रकारको आत्मसम्मान र आपसी हार्दिकता जोगाउने वातावरण बन्नाउनुपर्ने बताए । मिडिया सबलीकरण र मर्यादित अभ्यासका लागि महासंघ वा सञ्चार मञ्चले नेतृत्व लिएर जिल्लाको विकास गतिविधिमा साझेदारी गरेर अगाडि बढ्नुपर्ने प्रदेश सभा सदस्य सारुले बताए ।

कार्यक्रममा रास्वपा पाल्पाका उपसभापति सुमन गैरेले स्थानीय तह र मिडिया दुवैले आत्मसमीक्षा गर्दै सुशासनका लागि सहकार्य गर्न आवश्यक रहेको बताउए । उनले आपसी फाटो हटाएर मात्र पत्रकारिताको पेसागत विकास र संस्थागत सबलीकरण सम्भव रहेको बताए।

नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले मिडियामा हुने लगानीलाई उपलब्धिमूलक र प्रतिफलमुखी बनाउन स्पष्ट रणनीति आवश्यक रहेको बताए । उनले स्थानीय विकासका साझेदार र सञ्चारगृहबीच दिगो सहकार्यको ढाँचा तयार गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

नेकपा एमालेका पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरले स्थानीय तह र मिडिया एकापसका परिपूरक भएकाले कमीकमजोरी औँल्याउँदै अघि बढ्नुपर्ने बताए । उनले सकारात्मक खबरदारीले मात्र मिडिया सबलीकरण र विकासमा दिगो साझेदारी सम्भव रहेको बताए ।

नेकपा पाल्पाका संयोजक नेत्रप्रसाद पाण्डेयले सञ्चार क्षेत्रको संस्थागत विकासका लागि नीतिगत स्पष्टता र सहकार्य आवश्यक रहेको बताए । उनले सत्यतथ्य सूचना प्रवाह गर्दै विकास निर्माणका कार्यमा पत्रकारहरुले रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए ।

राप्रपा पाल्पाका अध्यक्ष डुलबहादुर कुँवरले पत्रकारहरुले घटनामा आधारित वस्तुनिष्ठ पत्रकारिता गर्नुपर्ने बताए । उनले सञ्चार माध्यमको दिगोपनका लागि स्थानीय सरकारबाट संरक्षण र सवलीकरण अनिवार्य रहेको बताए ।

यस्तैगरी रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले पत्रकारितालाई थप विश्वसनीय बनाई अन्तर–पालिका सम्बन्ध जोड्ने पुल बनाउनुपर्नेमा जोड दिए । उनले बिग्रीएका विषय मात्र नभै मिडिया र जनप्रतिनिधिबीचको दूरी घटाउँदै असल अभ्यासको आदानप्रदानमा समेत ध्यान दिनुपर्ने बताए ।

माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले खोजमूलक र मानवीय संवेदनशीलतामा आधारित सत्यतथ्य समाचार लेखनमा पत्रकारले जोड दिनुपर्ने बताए । उनले अनुसन्धानमूलक पत्रकारिता प्रवद्र्धन गरी निष्पक्षता जोगाउन सबै पक्ष सजग हुनुपर्ने बताए ।

बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले स्थानीय सरकारका गल्ती औँल्याउँदै जनतासम्म सही सूचना पु¥याउन मिडियाहरुले अब्बल भूमिका खेलेको बताइन् । उनले असल कामको सार्वजनिकीरण र गलत कामको खबरदारीले लोकतन्त्रलाई सुदृढ बनाउँने विश्वास व्यक्त गरिन् ।

रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले सञ्चार माध्यमले व्यक्ति तोकेर नभई सबै जनप्रतिनिधिका कामलाई समान स्थान दिनुपर्नेमा जोड दिइन् । उनले उपाध्यक्षसँग जोडिएका विकास निर्माणका कार्यक्रमलाई पनि प्राथमिकताका साथ समेट्नुपर्ने बताइन् ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले व्यक्ति वा मिडिया रिझाउने प्रवृत्ति छाडी सुशासन र पारदर्शितामा जोड दिनुपर्ने बताए । उनले पत्रकारितालाई जवाफदेही बनाउँदै असल अभ्यासको दीर्घकालीन दस्तावेज निर्माणमा ध्यान दिनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष प्रेस स्वतन्त्रता सेनानी गोविन्द भट्टराईले ‘भ्यूज’ को पछि नलागी वास्तविक र सत्यतथ्य ‘न्यूज’ मा ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनले पूर्वाग्रह त्यागी संकटमा परेको पत्रकारिता क्षेत्रको संरक्षण र विकासमा सबैको सहयोग आवश्यक रहेको औल्याए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष राजेश कुमार अर्यालले पत्रकारिता कर्म गरेर मात्र जीविकोपार्जन गर्न कठिन भइरहेको यथार्थलाई सम्बोधन गरिनुपर्नेमा जोड दिए । उनले सञ्चारकर्मीको पेसागत सुरक्षा र मिडिया सबलीकरणका लागि ठोस कदम चाल्नुपर्ने अवस्था आएको बताए ।

यस्तैगरी पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष समीरमान सिंहले पर्यटन प्रवद्र्धन र स्थानीय विकासका लागि मिडियासँगको साझेदारी फलदायी रहेको बताउँदै स्थानीय सम्भावना उजागर गरी आर्थिक समृद्धिका लागि संचार माध्यमसंग सहकार्य गर्न आफूहरु तयार रहेको बताए ।

पाल्पा व्यापार संघका अध्यक्ष विष्णुबहादुर कार्कीले उद्योग–व्यवसाय र युवा क्षेत्रलाई जोड्न सञ्चार क्षेत्रले समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले युवा शक्तिलाई स्वदेशमै टिकाउन र आर्थिक गतिविधि बढाउन मिडियाको सहयोग आवश्यक रहेको बताए ।

प्रेस सेन्टर पाल्पाका अध्यक्ष कृष्ण दर्नालले स्थानीय तहहरू आर्थिक एवं प्रशासनिक रूपमा पारदर्शी बन्नु अति आवश्यक रहेको बताए । उनले सञ्चार क्षेत्रले निष्पक्ष खबरदारी गर्दै सुशासन कायम गर्न निरन्तर लागिरहनुपर्नेमा जोड दिए ।

श्रीनगर भलिबल क्लबका अध्यक्ष कृष्ण आलेले खेलकुद र युवा क्षेत्रको विकासका लागि सञ्चार माध्यमसँग निरन्तर सहकार्य भइरहेको बताउँदै उनले मिडियासँगको सकारात्मक साझेदारीले अभियानका गतिविधिहरू सफल हुँने बताए ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष माधवप्रसाद अर्यालले ‘स्थानीय तह, सरकारी कार्यालय, जनप्रतिनिधि र नागरिक समाजको असल काम सार्वजनिकीरण अभ्यास र सम्भावना’ विषयमा अवधारणा पत्र प्रस्तुत गर्दै सञ्चार क्षेत्रलाई असल अभ्यासको दीर्घकालीन दस्तावेज तयार गर्ने गरी प्रयोग गर्नुपर्नेमा जोड दिए ।

 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको