तानसेन। पाल्पामा अटो रिक्सा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा भएको दुर्घटनामा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सोमबार बिहान करिब ११ बजे बल्घाबाट कटौजेपानीतर्फ आउँदै गरेको लु प्र ०१००१ ह २४४४ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो ।
चालकसहित आठ जना सवार रहेको अटोमा छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका–३ का ३८ वर्षीया यमकला खाम्चा गम्भीर घाइते भएकी छन् । यस्तै, सोही स्थानका २४ वर्षीय फर्सबहादुर नेपाली, २५ वर्षीया बसन्ती बराल, ३२ वर्षीया हरीकला सारु र २५ वर्षीया मन्जु दर्लामी मध्यम घाइते भएको प्रहरीको भनाइ छ । यस्तै छ वर्षीय इजन खाम्चा सामान्य घाइते भएको प्रहरीले जनाएको ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल पाल्पा पठाइएको थियो । सबै घाइतेको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक भिललाल भट्टराईले बताए ।
दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।






