तानसेन । जिल्ला प्रहरी कार्यालय पाल्पाले अभद्र व्यवहार सम्बन्धी कसुरमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तानसेन नगरपालिका-२ की मन्जु रेग्मी रहेको प्रहरीले जनाएको छ।
तानसेन नगरपालिका वडा नम्बर ७, बर्तुङ निवासी प्रकाश सुवेदीले दिएको जाहेरी दरखास्तका आधारमा प्रहरीले कानूनी प्रक्रिया अगाडि बढाएको हो।
हिमालयन बैंक पाल्पा शाखाका प्रबन्धक रहेका सुवेदीलाई रेग्मी जनरल सप्लायर्स र रेग्मी स्टार्स पाल्पा तानसेनकी प्रोप्राराईटर रहेकी रेग्मीले ऋण नपाएको झोकमा हातपात गरेको अभियोगमा निजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
सुवेदीले आफूमाथि अभद्र व्यवहार भएको भन्दै कारबाहीका लागि गत माघ २२ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन पेश गरेका थिए। उक्त निवेदनउपर प्रारम्भिक जाँचबुझ गरी प्रहरीले माघ २३ गते मुद्दा दर्ता किताबमा दर्ता गरेको छ।
नेपाल सरकार वादी हुने ‘अभद्र व्यवहार गर्न नहुने’ सम्बन्धी यस कसुरमा प्रहरी सहायक निरीक्षक नारायण कुमालले जाहेरी दर्ताको प्रक्रिया सम्पन्न गर्नुभएको छ। जिल्ला प्रहरी कार्यालय, अपराध अनुसन्धान तथा कारबाही शाखाले यस विषयमा थप अनुसन्धान सुरु गरिसकेको जनाएको छ।
मुलुकी अपराध संहिताअनुसार अभद्र व्यवहारको कसुर प्रमाणित भएमा सम्बन्धित व्यक्तिलाई कैद वा जरिवाना हुने कानुनी प्रावधान रहेको छ।
प्रहरीले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै दोषीमाथि कडा कारबाही गरिने र शान्ति सुरक्षा कायम राख्न कुनै कसर बाँकी नराखिने बताएको छ। रेग्मीले तानसेनमा ग्यास व्यवसाय गर्दै आएकी छ्न् ।

