तानसेन। नेपाल परिवार नियोजन संघ, पाल्पा शाखाले परिवार नियोजन सेवा बारे अन्तरक्रिया सम्पन्न गरेको छ । तानसेनमा आयोजित कार्यक्रममा संघले विगत दुई वर्षमा प्रवाह गरेको सेवा, प्रगति, समस्या तथा चुनौतीका विषयमा जानकारी गराउँदै आगामी कार्यक्रमका विषयमा जानकारी गराएको हो ।
कार्यक्रममा शाखा प्रबन्धक सोवाकान्त न्यौपानेले संघले प्रजनन् स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गरे। प्रबन्धक न्यौपानेले परिवार स्वास्थ्य केन्द्रसहित विभिन्न गाउँपालिकामा सञ्चालन गरिएका क्लिनिक र समुदायस्तरका कार्यक्रममार्फत हजारौं सेवाग्राहीले लाभ लिएको बताए। उनले सन् २०२४ र २०२५ मा मात्रै दुई लाखभन्दा बढीले विभिन्न स्वास्थ्य सेवा तथा रेफरल सुविधा प्राप्त गरेको जानकारी दिए। शाखा प्रबन्धक न्यौपानेले सेवा विस्तार भए पनि जनचेतना, स्रोत अभाव र पहुँचका चुनौती अझै विद्यमान रहेको बताउँदै स्थानीय तहहरुले समन्वय गरेर परिवार स्वास्थ्य योजना तथा प्रजनन् स्वास्थ्यका विययमा कार्यक्रम गर्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख काशिका गैरे ज्ञवालीले प्रजनन् स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्य संस्था र संघबीच समन्वय आवश्यक रहेको बताइन् । घट्दो जन्मदर, बदलिँदो सामाजिक संरचना र युवापुस्ताको आवश्यकता अनुसार सेवा उपलब्ध गराउनेतर्फ सबै लाग्नुपर्नेमा उनले जोड दिइन् ।
स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलले संघले सरकारी स्वास्थ्य प्रणालीलाई सहयोग पु¥याएको बताए। सुरक्षित प्रजनन् सेवामा पहुँच र निरन्तरतामा संघले गरेको कामको प्रशंसा गर्दै उनले विशेषगरी दुर्गम क्षेत्रमा सेवा लैजान संघले स्वास्थ्य कार्यालयसंग समन्वयात्मक भूमिका खेल्दै आएको बताए।
संघका अध्यक्ष शुशील शाक्यले परिवार नियोजन सेवाको आवश्यकता अझ बढ्दै गएको बताए। उनले सीमित स्रोतबाट पनि आफूहरुले प्रभावकारी रुपमा काम गर्दै आएको बताउदै यो काममा स्थानीय सरकारको सहयोग प्राप्त हुन नसकेको गुनासो गरे।
संघका कोषाध्यक्ष माधवप्रसाद अर्यालले सेवा विस्तारसँगै वित्तीय व्यवस्थापन र स्रोतको दीगो उपयोगमा समस्या देखिएको बताए। उनले आफ्ना नागरिकहरुको सुरक्षित प्रजनन् स्वास्थ्यका विषयमा स्थानीय सरकारहरु गम्भीर बन्नुपर्ने बताए।
नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले सञ्चार माध्यमले जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै प्रजनन् स्वास्थ्य र परिवार नियोजनका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागीहरूले परिवार नियोजन सेवाको प्रभावकारिता बढाउन स्थानीय आवश्यकता अनुसार कार्यक्रम सञ्चालन, सेवा पहुँच विस्तार, जनचेतना अभिवृद्धि तथा सरोकारवालाबीच सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए ।





















