जिल्लामै पहिलो पटक रैनादेवी छहराबाट कर सम्बन्धि सेवा सुरु

तानसेन। पाल्पाका स्थानीय तहबाट करदाता सम्बन्धि सेवा सुरु भएको छ। सरकारले जिल्लास्थित करदाता सेवा कार्यालय खारेज गरेपछि जिल्लामै पहिलो पटक रैनादेवी छहरा गाउँपालिकामा सो सम्बन्धि सेवा सुरु भएको हो।

आन्तरिक राजस्व कार्यालय बुटवल र गाउँपालिकाबीच भएको द्विपक्षीय सम्झौतासँगै सेवा सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारले बताए।  जिल्लामै पहिलो बनेसंगै आन्तरिक राजस्व कार्यालय बुटवलको कार्यक्षेत्रभित्र पर्ने पालिकाहरूमध्ये यो पहिलो नै पालिका बनेको आन्तरिक राजस्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत हरि बस्यालले बताए।

स्थानीय तहबाट  सेवा सुरु भएपछि करदाताले आधारभूत सेवाहरु पालिकाबाटै पाउने भएका छन् । सेवा प्रवाहका लागि आन्तरिक राजस्व कार्यालय, रुपन्देही र गाउँपालिकाबीच भएको सम्झौताअनुसार स्थानीय तहको क्षेत्रभित्र बसोबास गर्ने व्यक्तिहरुलाई व्यक्तिगत स्थायी लेखा नम्बर जारी गर्ने, पालिकाभित्र दर्ता भई संचालनमा रहेका व्यवसायहरुको व्यवसायीक स्थायी लेखा नम्बर जारी गर्ने, मागको आधारमा करचुक्ता उपलब्ध गराउने, स्थानीय तहभित्र व्यवसाय तथा निकायहरुको मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता निवेदन दिएमा कागजातको रित पुर्याएर आन्तरिक राजस्व कार्यालयमा सिफारिस गर्ने लगायतका सेवाहरू उपलब्ध हुने छन् ।

सेवाको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष रुक्माङ्गत भटराईले प्रणालीगत सुधारमार्फत भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नु सरकारको प्राथमिकता रहेको बताए।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष युवराज थापाले स्थानीय तहबाट सेवा सुरू भएपछि व्यवसायीलाई करको दायरामा ल्याउन र सेवा लिने पालिकावासीलाई रुपन्देहीसम्म जानुपर्ने बाध्यताको अन्त्य भएको बताए।

गाउँपालिकाले सेवा हस्तान्तरण गरेकै दिन स्थानीय व्यापारी लक्ष्मण बरालले व्यावसायिक दर्ता प्रमाणपत्र र सुरज भण्डारीले व्यक्तिगत स्थायी लेखा नम्बरको प्रमाणपत्र प्राप्त गरेपछि स्थानीय सरकारको यो कदमले साना तथा ठूला उद्यमीलाई ठूलो राहत मिलेको बताएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२।०७।१७ गते बसेको बैठकले देशभरका करसम्बन्धी सेवा दिने ८४ मध्ये ३६ वटा कार्यालय खारेज गरी जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय र स्थानीय तहबाट सेवा प्रदान गर्ने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer