रिब्दीकोटको सोमहरमा काँक्रा खेतीको अनुगमन

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाले ‘समृद्ध रिब्दीकोट निर्माणको आधार: कृषिमा व्यापक विस्तार’ भन्ने मूल संकल्पका साथ स्थानीय स्तरमा सञ्चालित कृषि परियोजनाहरूको अनुगमन र कृषकहरूसँगको परामर्शलाई तीव्रता दिएको छ।

यसै सिलसिलामा रिब्दीकोट गाउँपालिका वडा नं. ८ सोमहरमा कृषकहरूद्वारा व्यावसायिक रूपमा गरिएको काँक्रा खेतीको विशेष अध्ययन तथा अनुगमन कार्य सम्पन्न भएको छ। गाउँपालिका अनुगमन समितिकी संयोजक एवं उपाध्यक्ष कान्ता अधिकारी र प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल लगायत सम्बन्धित सरोकारवाला पक्षहरूको उपस्थितिमा व्यवसायीक काक्रा खेतीकाे अनुगमन गरिएको हो।

अनुगमन टोलीले सोमहरका कृषकहरूले गरेको काँक्रा खेतीको स्थलगत निरीक्षण गर्दै उत्पादनको अवस्था, सिँचाइ तथा बजार व्यवस्थापनका बारेमा विस्तृत जानकारी लिएको थियो। सो अवसरमा कृषकहरूका समस्या, आवश्यक प्राविधिक सहयोग र आगामी योजनाका विषयमा कृषकहरूसँग प्रत्यक्ष छलफल तथा परामर्श समेत गरिएको छ।

गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारीले पालिकालाई कृषिमा आत्मनिर्भर बनाउन र कृषकहरूको आर्थिक जीवनस्तर उकास्न गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै अनुदानकाे सही सदुपयाेग  गरेर  आर्थिक विकासमा लाग्न किसानलाइ अनुराेध गरिन र

प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले व्यावसायिक कृषिमा लागेका कृषकहरूलाई प्रोत्साहन र आवश्यक पालिकास्तरीय सहयोगका लागि यस्ता अनुगमन र छलफलले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । अनुगमनमा वडाअध्यक्ष दान बहादुर कुवंर, पूर्वाधार शाखा संयाेजक पुरन कार्की, रिब्दीकाेट कृषि परियाेजनाका कार्यक्रम संयाेजक बिशाल चाैधरी, सहजकर्ता मिना थापालगायतले किसानकाे घरदैलाेमा पुगेर वास्तविक समस्याका बारेमा समेत छलफल गरेका थिए ।

स्थानीय स्तरमै पुगेर गरिएको यस अनुगमन तथा परामर्श कार्यले कृषि क्षेत्रको वास्तविक अवस्था बुझ्न र आगामी नीति तथा कार्यक्रम तर्जुमा गर्न मद्दत पुग्ने गाउँपालिकाले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको