पाल्पा। पाल्पा अस्पतालले सेवाग्राहीहरूको आवश्यकतालाई मध्यनजर गर्दै रेबिज विरुद्धको सुई (Anti-Rabies Vaccine – ARV) निःशुल्क रूपमा उपलब्ध गराउने भएको छ। अस्पताल विकास समितिको मिति २०८३ साल जेठ ३१ गते बसेको बैठकको निर्णयानुसार अस्पतालले यो सेवा सुरु गर्ने भएको हो।
विकास समितिको आफ्नै आन्तरिक कोषबाट खर्च ब्यहोर्ने गरी पहिलो चरणमा १०० भायल एन्टिरेबिज भ्याक्सिन खरिद गरिएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालद्वारा जारी सूचना अनुसार, उक्त निःशुल्क एन्टिरेबिज भ्याक्सिन सेवा मिति २०८३ साल असार १ गतेदेखि नै अस्पतालबाट नियमित रूपमा प्रवाह हुन थालेको छ।
कुकुर, बिरालो लगायतका जनावरहरूले टोकेका बिरामीहरूका लागि यो अत्यन्तै आवश्यक र महँगो पर्ने भ्याक्सिन अस्पतालले निःशुल्क उपलब्ध गराउने भएपछि स्थानीय तथा वरपरका सेवाग्राहीहरूलाई ठूलो राहत पुग्ने विश्वास लिइएको छ।
अस्पतालले सम्बन्धित सबै सेवाग्राहीहरूलाई आवश्यक परेको खण्डमा अस्पतालमा सम्पर्क गरी सेवा लिन अनुरोध समेत गरेको छ। यसअघि खाेप अभावले सेवा बन्द हुने सूचना निकालेपछि चारैतिरबाट दबाब बढेपछि अस्पताल विकास समितिले खाेप खरिद गरेर सेवा सुरू गर्ने भएकाे हाे।
याे पनि पढ्नुहाेस्ः
पाल्पा अस्पतालमा खोप अभावले रेबिज विरुद्धकाे सेवा बन्द !


