तानसेन। पाल्पामा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण कार्यक्रम अन्तरगत एचआइभी सम्बन्धि लान्छना र भेदभाव कम गर्न अभिमुखीकरण गरिएको छ । जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधि, प्रहरी, पत्रकारसहित सरोकारवालालाई अभिमुखीकरण गरिएको हो ।
अभिमुखीकरणमा जिल्लामा एचआइभी संक्रमितको अवस्था, उपचार र समाजमा हुने गरेका लान्छना तथा लान्छना र भेदभाव कम गर्न भएका प्रयासबारे छलफल गरिएको थियो । अभिमुखीकरणमा स्वास्थ्य कार्यालय पाल्पाको तर्फबाट क्षयकुष्ट अधिकृत विश्वनाथ न्यौपाने, नेपाल परिवार नियोजन संघ पाल्पाका शाखा प्रबन्धक सोभाकान्त न्यौपाने, प्रतिबद्ध सयोग समूहकी अस्मीता भण्डारी र युनाइटेड मिसन अस्पतालका सागर पौडेलले आफ्नो निकायबाट भए गरेको कामका बारेमा जानकारी दिएका थिए ।
यसैबीच पाल्पा जिल्लामा हालसम्म देखिएका ८ सय ४२ जना संक्रमित मध्ये ३ सय ५४ जनाले नियमित औषधि सेवन गर्दै आएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । विभिन्न कारणले एचआइभी संक्रमित भएकाहरूले पाल्पा अस्पताल र रामपुर अस्पतालका एआरटी सेन्टरबाट नियमित औषधि सेवन गर्ने गरेका हुन् ।
औषधि सेवन गर्नेमध्ये १२ जना बालबालिका रहेका छन् । गत आर्थिक वर्ष ५ जनाको एचआइभी संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सरोकारवालाहरुले औषधि सेवनमा लापरबाही गर्दा उपचारको प्रभावकारिता घट्न सक्ने र स्वास्थ्य अवस्था जटिल बन्न सक्नेतर्फ सचेत गराएका छन् । उनीहरूले संक्रमित व्यक्तिलाई नियमित स्वास्थ्य परीक्षण गराउन, सन्तुलित आहार लिन र स्वस्थ जीवनशैली अपनाउन पनि सुझाव दिए ।
कार्यक्रममा सहभागीहरूले एचआइभी सम्बन्धी भ्रम र विभेद अन्त्य गर्न समाजका सबै पक्षले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले एचआईभी अन्य रोग भन्दा सामान्य हुँदै गएको र जनचेतना अभिवृद्धिका कारण यो रोगबाट संक्रमितको सङ्ख्या घट्दै गएको बताए । उनले अझै पनि यो रोग लागेका मानिसलाई भेदभाव दृष्टिले हेर्ने गरेका कारण कतिपय खुलेर औषधि सेवन गर्न डराएको बताए ।
समयमै र निरन्तर औषधि सेवन गर्दा भाइरसको प्रभाव नियन्त्रणमा रहने, रोग प्रतिरोधात्मक क्षमता सुदृढ हुने तथा स्वस्थ जीवनयापन गर्न सहज हुने विषयमा सचेतना फलाउन सबै सरोकारवाला निकायले पहल गर्नुपर्ने छलफलका सहभागीको भनाइ छ।


