आधुनिक कृषि र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै माथागढीले ल्यायो आगामी वर्षको नीति कार्यक्रम

जनतासँग माथागढी

तानसेन। माथागढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको १९ औं अधिवेशनको पहिलो बैठकमा सभाका सभाध्यक्ष अध्यक्ष यम बहादुर चिदीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रस्तुत नीति तथा कार्यक्रमले मुख्य रूपमा दिगो पूर्वाधार विकास, कृषिको आधुनिकीकरण, रोजगारी सिर्जना र समावेशी सुशासनलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यवसायिकरण गर्न जग्गाको चक्लाबन्दीमा जोड दिने नीति लिएको छ ।

आगामी आर्थिक वर्षमा मौरीपालनका साथै खुर्सानी, आलु, धनियाँ, तरकारी र किवीको पकेट क्षेत्रको विस्तार गरिने अध्यक्ष चिदीले घोषणा गरे । यस्तै माटोको जैविक गुण संरक्षणका लागि रासायनिक मल र विषादीको प्रयोग न्यूनीकरण गर्दै जैविक खेती प्रवद्र्धन गर्न विशेष कार्यक्रमहरू ल्याइने, ‘एक वडा एक तरकारी नर्सरी’ र ‘एक वडा एक उत्पादन पकेट’ कार्यक्रमलाई निरन्तरता दिँदै क्षेत्र विस्तार गरिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

उत्पादित वस्तुहरूको बजारीकरणका लागि सहकारी र समूहहरूको समन्वयमा शीतभण्डार (कोल्ड स्टोर) र कृषि बजार सञ्चालन प्रक्रिया अघि बढाउने, दूध र मासुमा आत्मनिर्भर बन्न भैंसी प्रवद्र्धन र कृत्रिम गर्भाधानमार्फत नश्ल सुधार कार्यक्रमलाई अगाडि बढाइने गाउँपालिकाले जनाएको छ । भौतिक पूर्वाधार विकासलाई समृद्धिको मुख्य आधार मानेर गाउँपालिकाको निर्माणाधीन प्रशासकीय भवनको बाँकी कार्य शीघ्र सम्पन्न गर्ने, खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न प्लास्टिक पोखरी र स्यालो ट्युबवेल निर्माणका कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

व्यावसायिक कृषि क्षेत्रमा कृषि सडक र विद्युतीकरण जस्ता पूर्वाधारहरू पु¥याइने, रोजगारी, उद्यमशीलता र सीप विकासयुवा जनशक्तिको विदेश पलायन रोक्न र आन्तरिक रोजगारी प्रवद्र्धन गर्न श्रम बजारको माग अनुरूप सीप विकास र एडभान्स तालिमहरू सञ्चालन गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको सीप र अनुभव पहिचान गरी उनीहरूलाई उद्यमशीलतासँग जोड्न ‘वैदेशिक रोजगार सम्बन्धी पाश्वचित्र’ (प्रोफाइल) तयार गर्ने नीति गाउँपालिकाको रहेको छ ।

स्थानीय मजदुरहरूको सामाजिक सुरक्षाका लागि ‘मजदुर दुर्घटना बिमा कार्यक्रम’ लाई आगामी वर्ष पनि निरन्तरता दिने, स्थानीय स्तरमा दुनाटपरी उत्पादन गर्ने उद्यमीलाई प्रोत्साहन गरी प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहन गर्ने नवीन नीति गाउँपालिकाले अघि सारेको छ ।

नागरिकलाई छिटो र प्रभावकारी सेवा प्रवाह गर्न कर्मचारीहरूमा ‘गुड सर्भिस कल्चर’ (कुशल सेवा संस्कृति) को विकास गरिने सभाका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत धुब्र दयालले बताए । स्वास्थ्य क्षेत्रतर्फ विपन्न नागरिकको स्वास्थ्य बिमा र ‘उपाध्यक्ष आमा सुरक्षा कार्यक्रम’ मार्फत गर्भवती महिलालाई पोषण सहायता वितरण गर्ने कार्यलाई निरन्तरता, शिक्षाको गुणस्तर सुधारका लागि कार्यसम्पादनमा आधारित प्रोत्साहन अनुदान, भर्चुअल शिक्षण र स्थानीय उत्पादनमा आधारित दिवा खाजालाई प्रोत्साहन गरिने नीति लिइएको गाउँपलिकाले जनाएको छ।

सीमित स्रोतसाधन र विषम भौगोलिक अवस्था जस्ता चुनौतीका बावजुद स्थानीय जनताको राय, सुझाव र भावनालाई समेटेर नीति तथा कार्यक्रम तयार गरिएको र प्रभावकारी कार्यान्वयनमा सबै पक्षको सहयोग रहने गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले बताए ।

सम्बन्धित खवर